काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्राउको विरोधमा बालुवाटारमा प्रदर्शन गर्न गएको नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेको पक्षमा प्रदर्शन गर्न गएका १७ जना नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा दयाराम नेपाल, सुरेन्द्रराज अवाले, शैलेन्द्र खत्री, उमेश लामा, खुसीराम कैनी, नवराज मुडभरी, वीरेन्द्र श्रेष्ठ, अशोक चौधरी, प्रदीप विष्ट, सुरेश पोख्रेल, ध्रुव ढकाल, नवराज भण्डारी, प्रकाश लामिछाने, रक्षा रायमाझी, साहिल पृयास, सबि खड्का र बुद्धरत्न महर्जनलगायत रहेका छन् ।
राजनीतिक प्रतिशोध, अन्याय, बेथिति र भ्रष्टाचारविरुद्ध भन्दै रास्वपाले प्रदर्शन गरिरहेको छ । प्रदर्शनको सुरुमै केही नेता कार्यकर्ता पक्राउ परेपनि अहिले निषेधित क्षेत्र नजिक रास्वपाको प्रदर्शन जारी छ । सो क्रममा नेता कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।