काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट अन्तर्गत समूह ‘बी’को पहिलो खेलमा नेपालले शानदार जित दर्ता गरेको छ।
ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी–१ मा बुधबार राती सम्पन्न खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो।
पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रनको प्रतिस्पर्धात्मक योगफल बनायो। नेपालका कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ५६ बलमा तीन छक्का र तीन चौकासहित ६६ रनको योगदान दिए। त्यस्तै, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले समान २०–२० रन जोड्दा कप्तान रोहित पौडेलले १६ रन बनाए।
बलिङतर्फ कुवेतका नवीनराज राजेन्द्रन र अनुदीप चन्दामाराले समान दुई–दुई विकेट लिए भने मोहम्मद आकिफ फरुकले एक विकेट हात पारे।
१४२ रनको लक्ष्य पछ्याएको कुवेत १८।१ ओभरमै सबै विकेट गुमाउँदै ८३ रनमा समेटियो। कुवेतका ओपनर क्लिन्टो आन्टोले २६ रन र यासिन पटेलले १९ रन बनाए।
नेपालका बलरहरू सन्दीप लामिछाने, ललितनारायण राजवंशी र कप्तान रोहित पौडेलले समान दुई–दुई विकेट लिँदा कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले समान एक–एक विकेट लिए।
यस जितसँगै नेपालले समूह चरणको विजयी सुरुवात गरेको हो। अब नेपालले शुक्रबार समूह चरणको दोस्रो खेल जापानसँग खेल्नेछ।