३० आश्विन २०८३, शुक्रबार

छठ मनाउन काठमाडौं महानगरले तोक्यो ८ स्थान

0
Shares


काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र छठ पर्व मनाउन ८ स्थान तोकेको छ । काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले शनिवार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिए ।

उनकाअनुसार महानगरले कमलपोखरी, गौरीघाट, बोक्सीदह, वागमती दोभन, टंकेश्वर, बल्खु कुमारी क्लव अगाडी, कुलेश्वर भलिबल ग्राउण्ड र रामघाट छठ मनाउनको लागि तोकिएको छ ।

यी ठाउँहरुमा महानगरले सरसफाईको कार्य थालनी गरेको पाण्डेले जानकारी दिए । ३ सय भन्दा बढी सरसफाइकर्मीहरु खटिएका छन् । काठमाडौं महानगरले छठ पर्व मनाउनको लागि कुनै कमी नहुने गरी व्यवस्थित रुपमा तयारी गरिएको उनले जानकारी दिए ।

उनले छठ पर्वको नाममा ताल पोखरीमा पैसा उठाउन नपाउने बताए । उनले कसैले कुनै प्रकारका शुल्क लिन खोजेमा जानकारी गराउन पनि आग्रह गरे ।

उनले छठ पर्व मनाउन तोकिएको ठाउँमा सवारी पार्किङ नगर्न पनि आग्रह गरे । यसवर्ष कात्तिक १० गते छठ पर्व मनाइँदैछ । छठ पर्व नदी किनारामा गएर सूर्यको पूजाआराधाना गरेर मनाइन्छ ।