काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनबारे प्रधानमन्त्री सुशीला कार्कीले नागरिक समाजका अगुवाहरूसँग छलफल गुरेकी छन् । सोमवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र निष्पक्ष, भयरहित तथा स्वच्छ वातावरणमा निर्वाचन सम्पन्न गर्ने विषयमा प्रधानमन्त्री कार्कीले नागरिक अगुवाहरुसँग छलफल गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
उनकाअनुसार घोषित मितिमा निर्वाचन सम्पन्न गर्नुका साथै मुलुकमा भ्रष्टाचार नियन्त्रणी गरी सुशासन कायम गर्न गम्भीर भएर लाग्न नागरिक अगुवाहरुले सुझाव दिएका छन् । उनले मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्य गरी स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका निम्ति सहयोग गर्न नागरिक समाजले प्रतिवद्धता जनाएको समेत बताए।
छलफल प्रधानमन्त्री कार्की राजनीतिक जोखिम व्यवस्थापनसँगै प्रशासनिक तयारीका लागि समेत सरकार दृढ रहेको जवाफ फर्काएको मन्त्री खरेलले जानकारी दिए । प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगको कार्यक्षमता बढाउन आयोगको नेतृत्वसँग निरन्तर संवाद गरिरहेको जानकारी गराएको पनि मन्त्री खरेलले बताए।
घोषित मितिमा निर्वाचन सम्पन्न गर्नको लागि उचित वातावरण बनाउन नागरिक अगुवाहरुले दिएको सुझावलाई प्रधानमन्त्री कार्कीले सकारात्मक रुपमा लिएको नागरिक समाजका प्रतिनिधि खगेन्द्र संग्रौलाले बताए ।
छलफलमा नागरिक समाजका अगुवा प्रतिनिधिहरु इन्द्र अधिकारी, सुवोधराज प्याकुरेल, जेबी विश्वकर्मा, स्टेला तामाङ, विजयकान्त कर्ण, गीता शर्मा, दोभान राई लगायत उपस्थित थिए।
