३० आश्विन २०८३, शुक्रबार

नेपाल ट्रस्टको जग्गा प्रकरणमा पूर्व सचिव सहित चार प्रतिवादीविरुद्ध ठगी मुद्दा, पाँच अर्ब २५ करोड बढी बिगो माग

0
Shares


काठमाडौं । नेपाल ट्रस्टको जग्गा प्रकरणमा तीन जना र एक कम्पनीविरुद्ध ठगी मुद्दा दर्ता भएको छ । नेपाल ट्रस्टको दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गा लिजमा भएको अनियमिततामा पाँच अर्ब २५ करोड ६३ लाख रुपैयाँ बिगो कायम गरी बुधबार मुद्दा दायर भएको छ ।

तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की, थामसेर्कु ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा र थामसेर्कु ट्रेकिङलाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले बुधबार जिल्ला अदालत काठमाडौँमा ठगी मुद्दा दायर गरेको हो ।

प्रतिवादी बनाइएकाहरूले नेपाल ट्रस्टलाई ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९९४ रुपैयाँ ३१ पैसा दिने प्रस्ताव स्वीकार गर्न सिफारिस गरेको भए पनि एक अर्ब ५९ करोड ४० लाख ५२ हजार २०४ रुपैयाँ ६० पैसामा सम्झौता गरेको खुलेको छ । यसरी गरेको सम्झौता नियम सङ्गत नदेखिएको र ठगी गरेको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानको निष्कर्ष छ ।

नेपाल ट्रस्टको नाममा दर्ता कायम रहेको काठमाडौँ महानगरपालिका–१ दरबारमार्ग स्थित कित्ता नं. ४६०६ को १–१४–०–३–५६ क्षेत्रफलको जग्गा लिजमा लिँदा नेपाल ट्रस्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिको बीचमा निर्माण अवधि ३ वर्षसमेत गरी ३० वर्षका लागि सम्झौता भएको थियो । सीआईबीको अनुसन्धानमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले बुधबार मुद्दा दायर गरेको हो ।

जिल्ला अदालत, काठमाडौँमा दर्ता गरिएको मुद्दामा तीन जनालाई पाँच वर्ष कैद सजाय माग गरिएको छ ।