गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउने गतिविधि नगर्न आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याउने किसिमका घटना नगर्न सचेत गराएको हो ।
सामाजिक सञ्जालको दुरुपयोग गरी निश्चित समुदाय एवम् धर्मलक्षित अवैधानिक गतिविधि गर्ने, आपसी सामाजिक सद्भावमा खलल पुर्याउने, अमर्यादित व्यवहार प्रदर्शन गर्ने, धार्मिकस्थलमा तोडफोड, आगजनी, लुटपाट जस्ता हिंसात्मक एवम् सामाजिक द्वेष फैलाउने व्यक्ति तथा समूहलाई कारबाहीको दायरामा ल्याउने प्रक्रिया अघि बढेको मन्त्रालयले स्पष्ट पारेको छ ।
‘विभिन्न जातजाति, धर्म र सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, गाली बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवम् सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुनेजस्ता घृणाजन्य अभिव्यक्ति दिनु दण्डनीय अपराध हो’, गृह मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।
मन्त्रालयले जोकोही व्यक्ति तथा समूहले जहाँसुकै रहेर कानूनद्वारा वर्जित र दण्डनीय गतिविधि गरे गराए पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ ।