काठमाडौं । काठमाण्डौ प्रहरीले महाशिवरात्रि पर्वको दिन आज गरगहना लगाएर पशुपतिनाथको दर्शनमा नजान भक्तजनलाई अनुरोध गरेको छ ।
शनिबार विभिन्न १३ बुँदे अनुरोधमार्फत प्रहरीले भक्तजनलाई सचेत गराएको हो । चोरी तथा लुटपाटका घटना हुनसक्ने भएकाले बहुमूल्य गरगहना नलगाउन, महत्त्वपूर्ण र महँगो सरसामान लिएर मन्दिरको दर्शनका लागि नजान अनुरोध गरिएको प्रहरीले जनाएको छ ।
पशुपतिनाथ मन्दिर प्राङ्गणमा सबै प्रकारका मोबाइल फोन, क्यामरालगायत सामग्रीको प्रयोग निषेध गरिएको तथा छालाका सामान, जुत्ताचप्पल, ज्याकेट, कम्मरपेटीलगाएर मन्दिरमा प्रवेश निषेध भएकाले त्यस्ता सामान तोकिएको सुरक्षित ठाउँमा राखेर मात्र दर्शन गर्न भनिएको छ ।
हरेक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आज भगवान शिवको विधिपूर्वक पूजाआराधना गरी देशभर मनाइँदैछ ।
आज देशभरका विभिन्न ठाउँ तथा छिमेकी भारतका तीर्थयात्रीको विशेष गरी पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्ने गर्छ । तीन वर्षअघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायतलाई निषेध गरिएको छ । यस्ता बस्तु तथा पदार्थ भेटिए प्रहरीले कारबाही गर्ने जनाएको छ ।