३० आश्विन २०८३, शुक्रबार

भेपमा सुन तस्करी : पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

0
Shares


काठमाडौं । प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध विशेष अदालतमा पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । विद्युतीय चुरोट (भेप) मा राखेर तस्करी गरिएको सुन छुटाउन दबाब दिएको भन्दै महराविरुद्ध यसअघि काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएको थियो ।

राज्यको जिम्मेवार पदमा बसेर तस्करीमा सहयोग गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार (चैत २६) विशेष अदालतमा पनि मुद्दा दायर गरेको हो । विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले मुद्दाको मिसिल अध्ययन भइरहेको जानकारी दिए ।

विशेष अदालत स्रोतका अनुसार, उक्त मुद्दामा महरासँगै २८ व्यक्ति र एक कम्पनीलाई प्रतिवादी बनाइएको छ ।

गएको असोज २७ गते काठमाडौं जिल्ला अदालतबाट उनलाई पुर्पक्षका निम्ति थुनामा पठाइएको थियो । महरा मंसिर २० मा उच्च अदालत पाटनको आदेशमा २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

नौ किलो सुन तस्करी प्रकरणमा सुरुमा जोगाइएका महरालाई दोस्रो चरणको अनुसन्धानपछि मुद्दा चलाइएको थियो । दुबईबाट ल्याइएको उक्त सुन जाँचपासका क्रममा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो ।