१ कार्तिक २०८३, शनिबार

संघीय संसद्का विभिन्न समितिका सभापतिका उम्मेदवारले मनोनयन दर्ता ,प्रतिनिधिसभा अन्तर्गत १० र राष्ट्रिय सभाअन्तर्गत ४ विषयगत समिति

0
Shares


काठमाडौं। संघीय संसद्का विभिन्न समितिका सभापतिका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । मनोनयनअघि दलहरूले उम्मेदवारको विषयमा छलफल गरेका थिए । संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् ।

प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभाअन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् । सबै समितिमा बहुमत रहेका सत्तारुढ दल रास्वपाको बिहिबार बसेको संसदीय दलको बैठकले सार्वजानिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिएर बाँकी सबै समितिका सभापतिमा आफ्ना सांसद पठाउने निर्णय गरेको थियो । सोही अनुसार रास्वापाले कानून, न्याय तथा मानव अधिकार समितिमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी र राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाललाई उम्मेदवार बनाएको छ ।यस्तै शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजश्वी शेरचन, संसदीय सुनुवाइ समितमा बोधनारायण श्रेष्ठ, राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा गणेश कार्की, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्नीमा उदास र अर्थ समितिमा कृष्णहरि बुढाथोकीलाई उम्मेदवार बनाएको छ ।

रास्वपाले सार्वजनिक लेखा समितिको सभापति भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ । लोकतान्त्रिक सन्तुलन र नियन्त्रणका लागि संसारभरि नै लेखा समितिको सभापति प्रतिपक्षले पाउने संसदीय परम्परा रहेको छ । जसअनुसार सार्वजनिक लेखा समितिको सभापति पदमा नेपाली काँग्रेसका साँसद भरतबहादुर खड्काले उम्मेद्वारी दर्ता गराएका छन् । नेपाली काँग्रेसले खड्कालाई सभापतिको उम्मेद्वार बनाउने निर्णय गरेको थियो । यसैबीच लेखा समिति सभापतिमा कांग्रेसलाई नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सघाएका छन् । प्रतिनिधिसभाका संसदीय समितिका सभापतिका लागि बिहिबार मनोनयन दर्ता र शुक्रबार चुनाव हुँदैछ । सम्पूर्ण समितिमा रास्वपाको बहुमत भएकाले सबै सभापतिहरु निर्विरोध निर्वाचित हुने निश्चित जस्तै बनेको छ ।

यस्तै रास्वपाको बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले ।संसदीय दलको उपनेता, मुख्य सचेतक र सचेतक चयन गरेको छ । जसअनुसार संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन् । यस्तै, मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी तथा सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई तोकिएको महामन्त्री समेत रहेका मुख्य सचेतक बुर्लाकोटीले जानकारी दिए । रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह दल नेता हुन् ।

यस्तै बिहीबार बसेको संसदीय दलको बैठकले मन्त्री र सांसदहरूको लेबी तोक्ने प्रस्ताव पारित गरेको मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले जानकारी दिए । सांसदहरूका लागि १६ हजार ५ सय र मन्त्रीहरूका लागि १८ हजार लेबी तोक्ने प्रस्ताव पारित भएको उनको भनाइ छ ।त्यस्तै, स्वकीयहरूका लागि पनि २ हजार लेबी तोक्ने प्रस्ताव पारित भएको छ । अहिले उक्त व्यवस्था मन्त्रीका स्वीकय सचिवका हकमा लागू हुनेछ ।

सांसदहरूले स्वकीय राख्न पाउने व्यवस्था भएको खण्डमा सांसदका स्वकीयका लागि पनि लेबीको व्यवस्था हुने बुर्लाकोटीले बताए ।सांसदहरूको स्वकीय तोकिएको खण्डमा उनीहरूले पनि पार्टीलाई २ हजार लेबी तिर्नुपर्ने व्यवस्था पारित भएको हो ।