काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले सुकुम्वासी बस्तीमाथि बर्बरतापूर्वक हमला गरेको भन्दै त्यसको प्रतिवादमा उत्रिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।
शुक्रबार सानेपास्थित पार्टी मुख्यालयमा आयोजित ‘नेपालमा भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको अवस्थाः डोजर आतंक र सुकुम्वासी पीडा’ विषयक कार्यक्रममा सभापति थापाले सो निर्देशन दिएका हुन् ।
सभापति थापाले पार्टीका संघीय तथा प्रदेश तथा स्थानीय सरकारमा रहेकाहरूलाई सरकारको बर्बरताविरुद्ध प्रतिवाद गर्न सचेत गराए ।
सरकारले सुकुम्वासी बस्तीमा बर्बरता देखाएर पनि कम्फरटेबल फिल गरिरहेको भन्दै यस्तो शासक आफूले यसअघि नदेखेको उनको भनाइ छ।
सभापति थापाले सरकारले बल प्रयोग गर्दा नागरिकका पीडालाई समेत बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरे ।