काठमाडौं । नेपाली काँग्रेसका सांसद नारायणदत्त मिश्रले प्रधानमन्त्री बालेन्द्र साहले दिएको नेपालले भारतीय भूमि मिचेको रहेछ भन्ने अभिव्यक्तिले नेपालको स्थापित कुटनीतिक अडानलाई कमजोर बनाउन सक्ने बताएका छन् ।
मंगलवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले दिने अभिव्यक्ति तथ्य र प्रमाणसहितको हुनुपर्ने बताएका हुन् । नेपाल–भारत खुला सीमाका कारण दुवै देशका नागरिकले एकअर्काको भूमिमा खेतीपाती गर्ने, जग्गाधनी पुर्जा राख्ने जस्ता अवस्था हुनसक्ने उनको भनाई छ । तर नेपालले सरकारी स्तरमा कुनै पनि देशको सीमा मिचेको वा सीमा स्तम्भ सारेर अर्को देशको भूभाग अतिक्रमण गरेको प्रमाण नभएको उनले बताए । भारतले समेत नेपालले आफ्नो भूमि मिचेको आधिकारिक रूपमा कहिल्यै दाबी नगरेको वा लिखित प्रमाण प्रश्तुत नगरेको उनको भनाई छ ।
नेकपा एमालेकी सांसद मिनान्सी रखालले प्रधानमन्त्री बालेन्द्र साहले सीमासम्बन्धी दिएको अभिव्यक्तिमा माफी मागेर राजीनामा दिनेसम्मको शाहस देखाउनुपर्ने बताइन् । प्रधानमन्त्रीले दिएको ‘नेपालले भारतको पनि भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति राष्ट्रियता, सार्वभौमिकता र कुटनीतिक संवेदनशीलता विपरित भएको उनको भनाइ छ । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले देशभित्र मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत प्रभाव पार्नसक्ने बताइन् ।
नेपाल कम्युनिष्ट पार्टीकी सांसद रेनु चन्दले प्रधानमन्त्री बालेन्द्र साहले नेपालले भारतको भूमि अतिक्रमण गरेको प्रमाण सदनमा पेश गर्नुपर्ने बताएकी छन् ।मंगलवार बसेको राष्ट्रिय सभाको बैठकमा बौल्दै उनले नेपालले कहाँ, कति भुमी मिचेको छ प्रमाण पेश गर्नुपर्ने बताएकी हुन् । कुनैपनि देशले कानुनी अधिकार वा आपसी सहमतिविना अर्को देशको भूमिमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण भनिने उनको भनाई छ ।
राष्ट्रिय जनमोर्चाका संसाद तुलप्रसाद विश्वकर्माले संसदीय समिति गठन गरेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथी छानविन गर्नुपर्ने बताए । अर्थमन्त्री वाग्लेले संसदमा पेश भइसकेको आर्थिक विधेयकलाई १६ पेज गायव गरेर करका दर हेरफेर गरेको आरोप लगाए ।
