काठमाडौं । गृह मन्त्रालयले सुनसरी घटना छानबिन गर्न एक समिति गठन गरेको छ ।
सोमबार गृहका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । सोमबारै बिहान गृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका प्रमुख एवं आईजीपी नारायणदत्त पौडेललाई सिंंहदरबार बोलाएर घटनाबारे जानकारी लिएका छन् ।
आइतबार ाति सुनसरीमा सुरक्षाकर्मीले चलाएको गोलीबाट एक युवकको मृत्यु भएको थियो । सोही विषयमा गृहमन्त्री गुरुङले आईजीपीद्वयलाई छलफलका निम्ति बोलाएका हुन् ।सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको तनाव नियन्त्रणमा लिने क्रममा प्रहरी र सशस्त्र प्रहरी दुवै संगठनबाट गोली चलाइएको थियो ।प्रहरीले चलाएको गोली लागेर कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ । अरू केही व्यक्ति घाइते छन् ।
सोमबारको बोलबम यात्राका निम्ति डिजेसहित हिँडेको समूहसित स्थानीयवासीको झडप भएको प्रहरीले जनाएको छ । यसैबीच जिल्ला प्रशासन कार्यालयले देवागञ्जसहित पाँचवटा क्षेत्रमा बेलुका ७ बजेसम्म कफ्र्यु आदेश जारी गरेको छ । तर, घटनाको विरोधमा स्थानीयले कफ्र्युको उल्लंघन गर्दै कप्तानगञ्जमा प्रदर्शन गरिरहेका छन् ।
कफ्र्युका बाबजुद स्थानीयले प्रदर्शन गरेसँगै स्थिति नियन्त्रणमा लिन नेपाली सेनाले गस्ती सुरु गरेको छ ।बख्तरबन्द गाडी लिएर नेपाली सेनाको टोलीले कप्तानगञ्जका सडकमा गस्ती सुरु गरेको छ ।