३० आश्विन २०८३, शुक्रबार

सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमत

0
Shares


काठमाडौं । सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमत भएका छन् । बुधबार बसेको सर्वदलीय बैठकमा सुनसरीलगायत विभिन्न जिल्लामा विकसित संवेदनशील र दुःखद घटनाक्रमप्रति गम्भीर समीक्षा गर्दै राजनीतिक दलहरुले ७ बुँदे संयुक्त वक्तव्य तथा अपिल जारी गरेका छन् । उनिहरुले घटनाको निष्पक्ष छानविन गरि दोषिलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेको आह्वानमा बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लामा विकसित संवेदनशील र दुःखद घटनाक्रमप्रति गम्भीर समीक्षा गर्दै ७ बुँदे संयुक्त वक्तव्य तथा अपिल जारी गरेको छ । राजनीतिक दलले घटनामा परी ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् भने घाइते नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । यस्तै उनिहरुले सातबुदे अपिलमा शान्तिपूर्ण संवाद र सहमतिको आह्वान गर्दै तल्लो तहमा सर्वदलीय संयन्त्र र बैठकको पनि आह्वान गरेका छन् ।केन्द्रीय तहबाट समन्वय र नेतृत्वदायी भूमिका खेल्ने उनिहरुको प्रतिवद्धता छ । यस्तै उनिहरुले अफवाह नियन्त्रण र सामाजिक सञ्जालको जिम्मेवार प्रयोगमा जोड दिएका छन् ।नागरिकको जिउधनको रक्षा गर्नु राज्यको प्राथमिक दायित्व भएको बताउदै अधिकतम संयमता अपनाउँदै परिस्थितिलाई सामान्यीकरण गर्न, घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीउपर कानुन बमोजिम कारबाही गर्न र पीडित पक्षलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन हामी नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् यसअघि बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भापति लामिछानेले मुलुकमा विद्यमान असहज परिस्थितिलाई सामान्यीकरण गर्न र सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दलहरू एकमत रहेको बताए । सरकारको उपस्थिति र जिम्मेवारीका सम्बन्धमा उठाइएका प्रश्नहरूको जवाफ दिँदै उहाँले यो बैठक विशेषगरी राजनीतिक दलहरूले आफ्नो धारणा बनाउन र सरकारको ध्यानाकर्षण गराउन आयोजना गरिएको स्पष्ट पारे । सुनसरी लगायतका जिल्लामा हालै भएका प्रदर्शन र दुई युवकको ज्यान गएको घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै उनले घटनाको सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए । मुलुकको वर्तमान परिस्थिति संवेदनशील रहेकाले शान्ति सुव्यवस्था र सामाजिक सद्भाव कायम राख्नु नै अहिलेको मुख्य दायित्व भएको उनको भनाइ छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दलहरू एकमत हुनुपर्ने बताए । नेपाली समाजको मेरुदण्डका रूपमा रहेको धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कुनै उपहार नभई नेपाली नागरिकहरूको साझा प्रयत्नबाट आर्जित पूँजी भएको उल्लेख गर्दै यसलाई जोगाउन सबैले धैर्यता र संयमता अपनाउनुपर्ने बताए । प्रभावित जिल्लाहरूमा सर्वदलीय प्रयासलाई तिब्रता दिँदै सम्भावित अवाञ्छित गतिविधि रोक्न प्रशासन, प्रेस र राजनीतिक दलहरूले ‘प्रो–एक्टिभ’ भएर लाग्नुपर्ने प्रश्ताव गरे । यस्तै उनले सुनसरीमा विकसित पछिल्लो घटनाक्रमको सन्दर्भमा सरकारको भुमिकामाथि प्रश्न उठाउँदै प्रधानमन्त्रीलाई सक्रिय र समन्वयकारी भुमिका निर्वाह गर्न आग्रह गरे ।सरकार केवल बल प्रयोग र सामाजिक सञ्जालको ‘स्ट्याटस’मा मात्र सिमित हुन नहुने उनको भनाइ छ । उनले प्रधानमन्त्री बालेन्द्र साहलाई भाउ खाने र ठालु भएर बस्न नहुने सुझाव दिए ।

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकमा शान्ति सुरक्षाको अवस्था सुदृढ तुल्याउन र सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्न सरकारको ध्यानाकर्षण गराए। महासचिव पोखरेलले पछिल्लो परिस्थितिलाई दृष्टिगत गरी आयोजना गरिएको सर्वदलीय बैठकलाई सकारात्मक रूपमा लिँदै यसको नेतृत्व स्वयं प्रधानमन्त्रीले लिनुपर्नेमा जोड दिए ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सुनसरीमा पछिल्लो समय विकसित परिस्थितिलाई लिएर चिन्ता व्यक्त गरे । यस्तो संवेदनशील घडीमा सबै पक्षलाई संयमता अपनाउन र सामाजिक सद्भाव एवं आपसी विश्वास कायम राख्न उनले आह्वान गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले संवेदनशील विषयमा प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनुपर्ने र गृहमन्त्री स्वयं उपस्थित भई घटनाको सत्यतथ्यबारे दलहरूलाई जानकारी गराउनुपर्नेमा त्यस्तो हुन नसकेको भन्दै आपत्ति जनाए । बैठकको प्रकृति र सरकारको भुमिकाप्रति असन्तुष्टि जनाउदै अन्य नेतहरुले पनि यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनुपर्ने र गृहमन्त्री स्वयं उपस्थित भई घटनाको सत्यतथ्यबारे दलहरूलाई जानकारी गराउनुपर्ने धारणा राखेका छन् ।