३० आश्विन २०८३, शुक्रबार

देशभर श्रद्धापूर्वक गुरु पूर्णिमा पर्व मनाइँदै

0
Shares


काठमाडौं । आज गुरु पूर्णिमा । आफूलाई शिक्षा र मार्गनिर्देश गर्ने गुरुप्रति श्रद्धा र सम्मान प्रकट गरी देशभर मनाइँदैछ ।

अज्ञानताको अन्धकारबाट ज्ञानको प्रकाशतर्फ डो¥याउने व्यक्तित्वलाई ‘गुरु’ मानिने धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार आजको दिनको विशेष महत्व रहेको छ । संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । यसैले गुरुलाई अज्ञानता रूपी अन्धकार हटाएर ज्ञानको ज्योति छर्ने पथप्रदर्शकका रूपमा पुजिन्छ । आजका दिन विद्यार्थी तथा अनुयायीहरूले आफ्ना गुरुलाई भेटेर सम्मान प्रकट गर्ने, मिठाइ तथा उपहार अर्पण गर्ने र गुरुको आशीर्वाद लिने प्रचलन छ । यसै दिनलाई महर्षि वेदव्यासको जन्मजयन्तीका रूपमा ‘व्यास जयन्ती’ का रूपमा पनि मनाउने गरिन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूले व्यासलाई आदिगुरुका रूपमा सम्मान गर्दै आजको दिन विशेष अर्चना गर्ने गर्दछन् । यस अवसरमा देशभरका विद्यालय, क्याम्पस तथा विभिन्न शैक्षिक र आध्यात्मिक संस्थाहरूमा विशेष कार्यक्रमहरूको आयोजना गरिएको छ । गुरु–शिष्यको अटुट सम्बन्ध र गुरुको महिमालाई आत्मसात गर्दै सामाजिक सञ्जालहरूमा समेत बिहानैदेखि शुभकामना आदानप्रदान भइरहेको छ ।

माता–पिता सरह आदरणीय मानिने गुरुको सम्मानमा मनाइने यो पर्वले समाजमा विद्या र नैतिकताको महत्वलाई पुनः स्थापित गर्न सहयोग पु¥याउँदै आएको छ ।नेपाल वेद विद्याश्रम संस्कृत माध्यमिक विद्यालयका शिक्षक उत्सव लुइँटेलले गुरुलाई स्वयं प्रकाशित सूर्यको संज्ञा दिँदै उहाँले दिग्भ्रमित भएका जीवलाई सही मार्ग देखाउने तत्व नै गुरु भएको बताए । गुरुको मार्गदर्शनले मानिसलाई यस लोकको भोग र परलोकको यात्रा दुवैका लागि सक्षम बनाउने उनको भनाइ छ ।

लुईटेलले देशमा देखिएका कतिपय द्वन्द्व र समस्याहरू ज्ञानको अभावका कारण सिर्जना भएको उल्लेख गरे । उनले ज्ञानरूपी प्रकाशले समाजमा व्याप्त अज्ञानताको अन्धकारलाई नाश गरोस् भन्ने कामना गरे ।