काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बजेट अभावका कारण मन्त्रालय अन्तर्गतका निकायहरूको कार्यसम्पादनमा अवरोध हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सिंहदरबारमा बिहीवार आयोजित मन्त्रालयको त्रैमासिक समीक्षा बैठकमा बोल्दै उनले बजेट विनियोजनको क्रममा देखिएका प्राविधिक कठिनाइहरू समाधान गर्न आफूले पहल गर्ने बताएका हुन् । मन्त्री तिमिल्सिनाले बजेट निर्माणको समयमा प्रत्येक निकायसँग सघन छलफल गरिएको भएपनि कार्यान्वयनको चरणमा कतिपय महत्वपूर्ण शिर्षकहरूमा बजेट कटौती भएको पाइएको उल्लेख गरे । नियतवश नभए पनि प्राविधिक कारणले कतिपय अत्यावश्यक योजनाहरू छुटेको हुनसक्ने भन्दै उनले त्यस्ता समस्या समाधानका लागि अर्थ मन्त्रालयसँग समन्वय गर्ने बताए ।
मन्त्री तिमिल्सिनाले मन्त्रालयको कार्यसम्पादन र सफलता नै समग्र सरकारको सफलताको आधार भएको बताए । मन्त्री तिमिल्सिनाले कर्मचारीहरूलाई परिणाममुखी भएर काम गर्न निर्देशन दिए । मन्त्रालय मातहतका सबै निकायहरूले प्रभावकारी रूपमा कार्यसम्पादन गरे मात्रै सञ्चार मन्त्रालय सफल हुने र त्यसकै जगमा सरकारको सफलता निर्भर रहने उनको भनाइ छ ।
मन्त्री तिमिल्सिनाले आफूलाई औपचारिकता वा शिष्टाचार भेटघाटमा भन्दा पनि कामको नतिजामा बढी रुचि रहेको स्पष्ट पारे । मन्त्री तिमिल्सिनाले कर्मचारीहरूलाई समस्या लुकाएर नराख्न र प्रक्रियागत ढिलासुस्ती हटाएर नतिजा निकाल्ने गरी जिम्मेवारी पूरा गर्न सचेत गराए ।