काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार मधेसवादी दलहरूसँग छलफल गरेका छन्।
प्रधानमन्त्री भएयता दोस्रो पटक उनी दलका नेतासँग बसेका हुन्।यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग संवाद गरेका प्रधानमन्त्रीले देशमा संकट निम्तिएपछि अन्य दलका नेतासँग पनि संवाद अघि बढाएका हुन् ।
छलफलका क्रममा मधेसवादी दलका नेताहरूले प्रधानमन्त्री शाहलाई आन्दोलनमा उत्रिएकाहरूलाई ताकेर कम्मरमाथि गोली चलाउन कसले आदेश दियो भन्ने प्रश्न गरेका छन् ।
सामान्यतया कुनै पनि घटनामा गोली चलाउनुपर्ने अवस्था आइपरे सबैभन्दा पहिले कम्ममुनि लाग्ने गरी हान्नुपर्ने नियम छ। तर प्रहरीले कम्मरदेखि माथि छाती र टाउकोमा ताकी ताकी गोली हानेकाले आफूहरूले जवाफ मागेको बैठकमा सहभागी नेताहरुको भनाइ छ ।
गत आइतबार राति सुनसरीको देवानगञञ्जमा भएको घटनापछि बुधबारदेखि मधेश प्रदेश पनि अशान्त हुँदा पनि प्रधानमन्त्री तनावमा छन् । पाँचच दिनसम्म मौनता साँधेका उनी दबाब थेग्न नसकेपछि सक्रिय हुन बाध्य भएका छन् । नेताहरूले पनि पाँच दिनपछि मात्रै सक्रिय हुनुपर्ने परिस्थिति कसरी बन्यो भन्नेसमेत प्रश्न बालेनलाई गरेको जनाइएको छ ।
सरकारको नेतृत्व र सुरक्षा निकायबाट पनि गम्भीर कमजोरी भएको उल्लेख गर्दै मधेशवादी दलका नेताले प्रधानमन्त्री शाहलाई सुरक्षा निकायका व्यक्तिमाथि अनुसन्धान हुनुपर्ने माग राखे । गत आइतबारदेखि सुरू तनावपूर्ण घटनामा राजनीति स्वार्थहरू घुसेको हुनसक्ने संकेत नेताहरूको थियो ।