काठमाडौं । चर्चित आरोही निर्मल पुर्जाको निधन भएको छ ।
पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिम पहिरोमा परी बेपत्ता भएका पुर्जाको निधन भएको पुष्टि भएको हो । एलिट एक्सपिडिसनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् पुर्जाको निधन भएको जानकारी दिएको हो । बिहीबार क्याम्प–२ बाट क्याम्प–३ तर्फ उक्लिरहेका बेला १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली हिमपहिरोमा परेको थियो। विश्वप्रसिद्ध बेलायती–नेपाली पर्वतारोही निर्मल ‘निम्स’ पुर्जाको नेतृत्वमा रहेको उक्त टोलीसँग त्यसयता सम्पर्क टुटेको थियो । यसअघि सनिबार नै बेपत्ता भएकी अमेरिकी आरोही म्यालोरी गेइसको शव फेला परेको थियो भने शुक्रबार ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपालका पुरबहादुर गुरुङको शव पहिचान भएको थियो ।
काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रड पिकमा बिहीबार शिखरतर्फ उक्लिरहेको १० सदस्यीय अन्तर्राष्ट्रिय टोली हिमपहिरोमा परेको थियो । अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार उक्त अन्तर्राष्ट्रिय टोलीमा पाँच नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी, एक चिनियाँ र अन्य सदस्य सहभागी थिए । उक्त टोलीको नेतृत्व विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्स’ पुर्जाले गरिरहेका थिए। उनले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए ।