३० आश्विन २०८३, शुक्रबार

१५ औँ महाधिवेशनलाई निष्पक्ष बनाउन संयन्त्र निर्माण गर्नुपर्छः नैनसिंह महर

0
Shares


काठमाडौं । नेपाली काँग्रेसका नेता नैनसिंह महरले आगामी १५ औँ महाधिवेशनलाई निष्पक्ष र विवादरहित बनाउन पार्टीभित्र विशेष कार्यसम्पादन संयन्त्र निर्माण गर्नुपर्ने प्रश्ताव अघि सारेका छन् ।

बुधवार काठमाडौंमा आयोजित ‘देश र काँग्रेस जोड्ने अभियानः एकता र सद्भाव विमर्श’ कार्यक्रममा बोल्दै नेता महरले यस्तो बताएका हुन् । पार्टीभित्र कसैलाई निष्कासन गरेको वा कसैले पार्टी छाडेको जस्ता आरोप नलाग्ने गरी आगामी महाधिवेशनमा सबैको सहभागिता सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए । नेता महरले पार्टीका महत्वपूर्ण उपसमितिहरू जस्तै सदस्यता छनोट, निर्वाचन र अनुशासन समितिमा सबै पक्षको न्यायोचित सहभागिता र सर्वसम्मत निर्णय हुनुपर्ने बताए । महाधिवेशनलाई पारदर्शी बनाउन पार्टी सभापतिको अध्यक्षतामा १५ सदस्यीय संयन्त्र निर्माण गरी कार्यसम्पादन गर्न सकिने उनले विकल्प प्रश्तुत गरे ।

उनले भने, ‘पार्टी विभाजन वा निष्कासनजस्ता अवस्था दोहोरिन नदिई १५ औँ महाधिवेशनमा सबै पक्षको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ । पार्टी एकता कायम राख्ने प्रयास सफल भए सबैले साथ दिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । विशेष महाधिवेशनका लागि आवश्यक हस्ताक्षर पुगे पनि कानुनी र प्रक्रियागत कारणले त्यसतर्फ अघि बढ्न नसकिएको उल्लेख गर्दै अब चार महिनापछि हुने महाधिवेशनलाई निष्पक्ष र सर्वसम्मत ढंगले सम्पन्न गर्नुपर्ने धारणा राखिएको छ । महाधिवेशनका लागि सदस्यता छनोट समिति, निर्वाचन समिति र अनुशासन समितिजस्ता संरचनामा सबै पक्षको सहभागिता सुनिश्चित गर्नुपर्ने तथा अनावश्यक विवादभन्दा सहमतिमा जोड दिनुपर्ने बताइएको छ । यसैक्रममा पार्टी सभापतिको अध्यक्षतामा सबै पक्षको प्रतिनिधित्व हुने संयन्त्र गठन गरी महाधिवेशनसम्बन्धी आवश्यक तयारी र कार्यहरू निष्पक्ष रूपमा अघि बढाउने विषयमा पनि छलफल भइरहेको जानकारी दिइएको छ ।’

पार्टी एकता र मिलानका लागि भइरहेका प्रयासहरूमा आफ्नो पूर्ण समर्थन रहने प्रतिवद्धता जनाउँदै महरले विगत तीन महिनादेखि भइरहेका एकताका पहलहरूबारे आफू जानकार रहेको उल्लेख गरे । आगामी केही महिनाभित्रै महाधिवेशनको प्रक्रिया शुरु हुने भएकाले अब अनावश्यक आन्तरिक विवादमा नअल्झी पार्टीलाई बलियो बनाउनुपर्नेमा उनको विशेष जोड छ ।