३० आश्विन २०८३, शुक्रबार

सडक विस्तारमा विद्युत पोल स्थानान्तरण मुख्य चुनौती, समयमै काम नसकिँदा राज्यलाई आर्थिक भारः महानिर्देशक जैसी

0
Shares


काठमाडौं । सडक विभागका महानिर्देशक डा. विजय जैसीले देशभरका सडक विस्तार तथा स्तरोन्नति आयोजनाहरूमा विद्युत पोल स्थानान्तरण मुख्य वाधक बनेको बताएका छन् ।

शुक्रवार संघीय संसद्को पूर्वाधार विकास समितिको बैठकमा बोल्दै महानिर्देशक जैसीले विद्युत प्राधिकरणसँगको समन्वय अभाव र पोल सार्न हुने ढिलाइले विकास निर्माणमा गम्भीर असर परेको जानकारी दिएका हुन् । महानिर्देशक जैसीकाअनुसार सडकको सीमा (राइट अफ वे) भित्र पोल गाड्न सडक विभागले सहजीकरण गरे पनि सडक विस्तारका क्रममा ती पोल हटाउन विद्युत प्राधिकरणबाट अपेक्षित सहयोग र तदारुकता देखिएको छैन । आयोजनाहरूमा हुने ढिलाइका कारण राज्यलाई ठूलो आर्थिक क्षति भइरहेको उनले स्पष्ट पारे । उनले विद्युत प्राधिकरण र सडक विभागबीच अहिले मन्त्रालयगत तवरमा समन्वय भइरहेको र समस्या समाधानका लागि प्रयास भइरहेको बताए ।

 

बैठकमा नेपाल विद्युत प्राधिकरणले सडक विस्तारका क्रममा बाधक बनेका पोलहरू सार्ने काम हालसम्म ८० देखि ९० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको जानकारी दिएको छ । नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पोल सार्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् । उनकाअनुसार काठमाडौं–पोखरा सडक खण्ड लगायतका मुख्य क्षेत्रहरूमा पोल सार्ने काम करिब सकिएको छ भने केही स्थानमा पुराना पोलहरू उखेल्न मात्र बाँकी रहेको छ । कामका क्रममा आइपर्ने व्यवधानबारे स्पष्ट पार्दै निर्देशक श्रेष्ठले कतिपय स्थानमा जमिनको सतह (ल्याण्ड लेभल) नमिलेका कारण तारले भुइँ छुने जोखिम हुनाले पोल सार्न ढिलाइ भएको बताए ।

प्राधिकरणले सडक विभागसँगको सहकार्यमा सातै प्रदेशका कार्यालयहरूमार्फत पोल स्थानान्तरणको काम गरिरहेको छ । मुख्य ठेकेदारले काममा ढिलाइ गरेमा दुई–चारवटा पोलका कारण सडक विस्तार नरोक्न प्राधिकरण आफैँले ठेकेदार परिचालन गरेर भएपनि काम अघि बढाउन निर्देशन दिएको श्रेष्ठले जानकारी दिए ।