काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदुत झाङ माओमिङबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको हो । भेटवार्ताका क्रममा नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोगको दायरा विस्तार गर्ने तथा विकास साझेदारीलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा कुराकानी भएको हो । सो अवसरमा प्रधानमन्त्री शाहले चीनसँगको सदियौँ पुरानो सम्बन्धलाई नयाँ उचाईमा पु¥याउँदै साझा हितका क्षेत्रमा थप सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले नेपालको विकासमा चीनले पु¥याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि आपसी सम्बन्ध अझ प्रगाढ रहने विश्वास व्यक्त गरे।
त्यसैगरी, राजदुत माओमिङले प्रधानमन्त्रीलाई सफल कार्यकालको शुभकामना प्रदान गर्दै दुई देशबीचको सहकार्य र आपसी सम्बन्धलाई थप मजबुत बनाउन चीन सधैँ प्रतिवद्ध रहेको बताए । भेटमा दुवै पक्षले नेपाल र चीनबीचको मित्रतालाई नयाँ गति दिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।