३० आश्विन २०८३, शुक्रबार

दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ आजबाट सुरु

0
Shares


काठमाडौं । नेपाल अटो मोबाइल इम्पोर्टस एन्ड म्यानिफ्यक्चरर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ आजबाट सुरु भएको छ ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले उद्घाटन गरेसँगै नेपाल मोबिलिटी एक्स्पो–२०२६ सुरु भएको हो । साउन ३१ गतेसम्म चल्ने नेपाल मोबिलिटी एक्स्पो–२०२६ गतवर्षभन्दा भव्य हुने संयोजक गौरव शारडाले बताएका छन् । उनका अनुसार एक्स्पोमा एकातिर चीनका राष्ट्रपतिले चढ्ने लक्जरी ब्रान्ड ‘हङसी’ पहिलोपटक नेपाली मञ्चमा उभिनेछ भने अर्कोतर्फ दर्जनौँ नयाँ विद्युतीय र हाइब्रिड सवारीले भविष्यको सडक कस्तो हुनेछ भन्ने चित्र देखाउनेछन् ।

साना ईभीदेखि प्रिमियम एसयूभी, स्मार्ट स्कुटरदेखि सिटी बससम्म एउटै छानामुनि उभिँदा भृकुटीमण्डप केही दिनका लागि केवल प्रदर्शनीस्थल रहने छैन, नेपालको बदलिँदो ‘मोबिलिटी’ इतिहासको साक्षी बन्नेमा नाइमा ढुक्क छ ।अटोमोबाइल उद्योगका लागि यसपटकको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ एउटा व्यापारिक मेलामात्र नभएर बजारको नयाँ शक्ति–सन्तुलन घोषणा गर्ने मञ्च पनि हुने उनको भनाइ छ । सार्वजनिक हुने ४० भन्दा बढी नयाँ मोडलले अब नेपाली सडक पेट्रोल र डिजेलको आवाजभन्दा ब्याट्री, सफ्टवेयर र स्मार्ट प्रविधितर्फ मोडिइसकेको देखाउने उनको भनाइ छ ।

प्रदर्शनीमा ५५ भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्ड सहभागी हुँदैछन् । २६ चारपांग्रे, १८ दुईपांग्रे र आठ व्यावसायिक सवारी ब्रान्डसँगै ४० भन्दा बढी नयाँ उत्पादन सार्वजनिक हुने दाबी आयोजकको छ ।