काठमाडौं । नेता शशांक कोइरालाको किर्ते हस्ताक्षरसहित राष्ट्रिय भेला स्थगितको सूचना प्रकाशित भएको भन्दै कांग्रेस संस्थापनइतरले आपत्ति जनाएको छ ।
यही साउन २९ देखि ३१ सम्म आयोजित भेला अर्को सूचना नआउँदासम्मका लागि स्थगित भएको ब्यहोरासहित नेता कोइरालाको हस्ताक्षरमा विज्ञप्ति सार्वजनिक भएको छ । नेता मीन विश्वकर्माले भेला स्थगितको फर्जी विज्ञप्ति जारी भएको भन्दै आपत्ति जनाएका हुन् । कांग्रेसको आधिकारिकता सम्बन्धमा अदालतबाट मुद्दाको पुनरावलोकन आदेशपछि हतास मानसिकतामा संस्थापन पक्षबाट यस्तो गतिविधि भएको आरोप नेता विश्वकर्माको छ ।
नेपाली कांग्रेसका संस्थापनइतर पक्षले राष्ट्रिय भेला यही साउन २९ देखि ३१ गते काठमाडौंमा हुने बताएको छ । भेला स्थगितबारे कुनै पनि भ्रममा नपर्न नेता विश्वकर्माले आग्रह गरेका छन् ।