३० आश्विन २०८३, शुक्रबार

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका पाँच निर्णय

0
Shares


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युत्बाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ । यस्तै, बैठकले सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय पनि गरेको छ । सहिद घोषणा हुनेमा सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रवीन्द्रकुमार मेहता र सिराहाका गणेशकुमार यादव छन् ।

यस्तै बैठकले पोर्चुगल सरकारलाई काठमाडौंमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने तथा वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा बाराका निर्मलकुमार उप्रेतीलाई नियुक्त गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यसैगरी, पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा ढङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।