काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी नीति निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता बढाउने उद्देश्य साथ काठमाडौंमा ‘लोकल कन्फरेन्स अफ युथ गरिने भएको छ ।
सम्मेलनमार्फत युवालाई जलवायु परिवर्तनका विषयमा आफ्ना अनुभव र धारणा आदानप्रदान गर्ने, नीतिगत सुझाव तयार गर्ने तथा स्थानीय जलवायु कार्यलाई राष्ट्रिय र विश्वव्यापी जलवायु प्रक्रियासँग जोड्ने मार्गचित्र तयार गरिने आयोजकले जनाएको छ । सम्मेलनका निष्कर्षलाई सरोकारवाला मन्त्रालय मार्फत राष्ट्रिय नीतिमा सम्बोधन गराउन पहल गर्नुको साथै संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको आधिकारिक बालबालिका तथा युवा समूह मार्फत जलवायु परिर्वतन सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा प्रश्तुत गरिने आयोजक नेप्लिज युथ फर क्लाइमेट एक्सनकी राष्ट्रिय संयोजक आकृति डोटेलले जानकारी दिइन् । नेपालका सातवटै प्रदेशबाट १ सय ८० जना भन्दा बढी युवा सहभागी हुने सम्मेलन साउन २९ देखि ३ दिनसम्म चल्नेछ । सम्मेलनमा कम्तीमा ५० प्रतिशत महिला तथा लैङ्गिक विविधता भएकाहरुको सहभागिता सुनिश्चित गरिने बताइएको छ ।
डोटेलकाअनुसार सम्मेलनमा सहभागी युवाले आफूले भोगेका जलवायुजन्य समस्या, स्थानीय तहमा भइरहेका अभ्यास र त्यसबाट प्राप्त सिकाइ प्रश्तुत गर्नेछन् । ती अनुभव तथा सुझावलाई सम्बन्धित नीतिगत प्रक्रियामा लैजाने तयारी गरिएको छ । सम्मेलनमार्फत युवाका स्थानीय र राष्ट्रिय मुद्दालाई विश्वव्यापी जलवायु प्रक्रियामा पु¥याइने उनको भनाइ छ । उनले यसपटक युवाका आवाजलाई कागजमा मात्र सीमित नराखि अन्तर्राष्ट्रिय तहमा पुर्याउने दाबी गरिन् ।
