काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन र समुन्नतिको यात्रालाई गति दिन नेपाली कांग्रेस पार्टीभित्र सुदृढ एकता आवश्यक रहेको बताएका छन् ।
शुक्रबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उनले पार्टीको आन्तरिक सुदृढीकरण नै देशको आवश्यकता भएको उल्लेख गरेका हुन् ।उपसभापति शर्माले पार्टीभित्र देखिएका कतिपय प्रतिकूलता र भिन्न मतका बीच पनि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिए । उनले विशेष महाधिवेशनबाट व्यक्त भएको कार्यकर्ताको भावना र दृढताकै जगमा आगामी दिनमा पार्टी अझ बलियो भएर जाने विश्वास व्यक्त गरे । पार्टीका नेता–कार्यकर्ताहरूमा रहने व्यक्तिगत सम्बन्ध र निष्ठाको सम्मान गर्दै शर्माले व्यक्तिभन्दा संस्था र सिद्धान्तप्रतिको निष्ठा माथि हुने जिकिर गरे ।
उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र युवा नेतृत्वलाई आत्मसात गर्नुपर्नेमा जोड दिए । पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फिर्तीलाई स्वागत गर्दै उपसभापति शर्माले देउवाबाट सबै पक्षलाई समेट्ने र एकताको सन्देश प्रवाह हुने अपेक्षा गरिएको बताए । देउवाले आफ्नो लिखित अभिव्यक्तिमा परिवर्तनलाई आत्मसात गर्ने र युवालाई अगाडि बढाउने प्रतिवद्धता जनाएको सन्दर्भ उल्लेख गर्दै शर्माले उक्त विचारलाई अहिलेको सम्मेलनको केन्द्रमा राखिनुपर्ने उनको भनाइ छ । विधि र पद्धतिबाट आएको युवा नेतृत्वलाई स्वीकार गर्न नसक्नुले पार्टीभित्र गम्भीर प्रश्न उब्जाउने उनको तर्क छ । विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको नेतृत्वमा नेपाली कांग्रेसले सबल राष्ट्रिय शक्तिको भूमिका निर्वाह गर्ने कुरामा आफू पूर्ण दृढ रहेको उनको भनाइ छ ।
