१ कार्तिक २०८३, शनिबार

शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय

0
Shares


काठमाडौं । नेपाली काँग्रेसको संस्थापन इतर पक्षीय नेताहरूको राष्ट्रिय भेलाले पार्टीको आगामी १५ औं महाधिवेशन पूर्वसभापति शेरबहादुर देउवाकै नेतृत्वमा सम्पन्न गर्ने निर्णय गरेको छ । साउन २९–३१ गते सम्पन्न भेलाले पार्टीको आन्तरिक सुदृढीकरण र आगामी कार्यदिशाका सम्बन्धमा विभिन्न महत्वपूर्ण प्रश्तावहरू पारित गरेको हो । भेलाले नेता शशांक कोइरालालाई नै महाधिवेशनसँग सम्बन्धित सबै क्रियाकलाप अघि बढाउन जिम्मेवारी दिएको छ ।

नेपाली काँग्रेसको संस्थापन इतर पक्षीय नेताहरूको राष्ट्रिय भेलाले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यसमितिको निर्णय र आयोजनामा १५ औं महाधिवेशन सम्पन्न गर्ने र त्यसको नेतृत्व १४ औं महाधिवेशसनबाट निर्वाचित सभापति शेरबहादुर देउवाले नै गर्ने निर्णय गरेको छ । देउवाको नेतृत्वमा पार्टीलाई एकतावद्ध बनाई महाधिवेशन सफल पार्ने दृढता व्यक्त गर्दै महाधिवेशनसम्मका पार्टीका नियमित गतिविधिहरू सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकहरूले संयोजन गर्ने तय गरिएको छ । राजनीतिक प्रश्तावअन्तर्गत, भेलाले वि.सं. २०३३ सालमा महामानव वीपी कोईरालाले अवलम्वन गरेको राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई वर्तमान सन्दर्भमा पनि सान्दर्भिक ठहर गरेको छ । मुलुकको विद्यमान जटिल परिस्थितिलाई दृष्टिगत गर्दै राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि अन्य लोकतान्त्रिक शक्तिहरूसँग निरन्तर संवाद र सहकार्य गर्ने नीति काँग्रेसले लिएको नेता दीपक कुइँकेलले बताए । बैठकका निर्णयहरु सुनाउँदै कुइँकलले भेलाले नेपालको सनातन धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानको अभिन्न अङ्गको रूपमा स्वीकार गरेको बताए । हिन्दु, बौद्ध, किराँत र प्राकृत लगायतका धर्मको संरक्षण गर्ने दायित्व वोध गर्दै धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्न पार्टी प्रतिवद्ध रहने प्रश्ताव पारित गरिएको छ । संविधानको सम्बन्धमा जनअपेक्षा सम्बोधन गर्न आवश्यक संशोधनका लागि संवैधानिक व्यवस्थाअनुसार नै सम्बन्धित पक्षहरूसँग संवाद गरी निकास खोजिने जनाइएको छ ।

भेलालाई सम्बोधन गर्दै निर्वतमान सभापति देउवाले आफू हिन्दु धर्मावलम्बी भएको र आफ्नो धार्मिक पहिचान व्यक्त गर्न पाउनु अधिकार भएको बताए । आफू अन्य कुनै पनि धर्म वा समुदायको विरोधी नभएको समेत स्पष्ट पार्दै उनले सबैले आफ्नो धर्मको पहिचान खुलाउन पाउने बताए । आफू हिन्दु धर्ममा पूर्ण विश्वास राख्ने बताउँदै देउवाले आफ्नो धार्मिक आस्थाका बारेमा पहिले पनि पटक–पटक स्पष्ट पारिसकेको उल्लेख गरे ।सबै धर्मको अस्तित्व र सम्मानलाई स्वीकार गर्दै आफ्नो व्यक्तिगत धार्मिक स्वतन्त्रताको रक्षा हुनुपर्नेमा जोड दिए । यस्तै देउवाले अदालतबाट आफुहरुले न्याय पाउने पनि विश्वास व्यक्त गरे ।

 

भेलालाई समापन गर्दै भेलाका संयोजक एवं नेता डा. शशांक कोईरालाले पार्टीको आन्तरिक एकता र सुदृढीकरणका लागि सबै पक्ष एकतावद्ध हुनुपर्नेमा जोड दिए । सम्मेलनले पारित गरेका पाँचबुँदे प्रश्तावहरूप्रति ऐक्यवद्धता जनाउँदै कोईरालाले सहभागीहरूलाई धन्यवाद तथा शुभकामना व्यक्त गरे । उनले आगामी दिनमा पनि यस्ता सांगठनिक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।

भेलाको समापनमा नेता पूर्णबहादुर खड्का र शेखर कोइराला भने अनुपस्थित भएका छन् । भेलाको उद्घाटन समारोहमा भने दुवैजना नेता उपस्थित थिए ।