काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न नसक्ने बताएका छन् ।
बिहीवार काठमाडौमा आयोजित दोलखाका लोकनायकहरु पुस्तक िवमोचन कार्यक्रममा उनले अब नेपालमा राजनीतिक ‘एड्भेन्चर’ नचाहिएको बताएका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाँच वर्षको लागी सरकार चालउन जनताबाट म्याण्डेड लिएर आएकोेले उसलाई पाँच वर्ष काम गर्ने अवसर दिनुपर्ने बताए । पाँच वर्षपछि काँग्रेसले सरकार चलाउनेगरि आफूहरुले तयारी गरिरहेको पनि उनले जानकारी दिए । विगतबाट पाठ सिकेर आफूलाई सच्याउँदै अघि लैजाने बताउदै उनले नयाँ राजनीतिक शक्तिहरुलाई पनि पुराना दलहरूले गरेको गल्ती र भोगेको संकट नदोहो¥याउन सुझाव दिए । उनले संख्या नै ठूलो भन्ने भ्रमबाट मुक्त हुन पनि सरकारलाई आग्रह गरे ।
उनले भने, ‘हामी एकैपटक माथि मात्रै हेर्यौँ, हामीसँग पाएको शक्ति, प्रतिष्ठा मात्रै हेर्यौँ, त्यसले हामीलाई ठिक ठाउँमा पु¥याउन सक्दैन । हिजो हामीले सिकेको कुरा हो यो, हामी त्यो सिकाइबाट आफूलाई सच्याउन चाहन्छौँ, आफूलाई बदलेर लैजान चाहन्छौँ । नयाँ साथीहरूले पनि उहाँहरूले नभोगेको कुरा हामीले भोग्यौँ नि त बाबा । हामीले भोगेको कुरा किन तपाईंहरू भोग्नुहुन्छ फेरि ? तपाईंहरू त नभोग्नुस् । म त म त बारम्बार भनिरहेको छु, मज्जाले अहिलेको कम्तीमा कुनै नयाँ पोलिटिकल एड्भेन्चर नेपालमा नगर्नुहोस् अब । नेपालले थेग्न सक्दैन। राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचित जितेर आएको छ, ५ वर्ष उहाँहरूले नेतृत्व गर्नेछ । एकैचोटि अर्को ५ वर्षपछि चुनाव गर्ने, हामीले राम्रो उहाँहरूभन्दा राम्रो गर्ने गरेर तयारी गरिरहेका हुन्छौँ नि त हामी । नयाँ सोचका साथ आउँछौँ, नयाँ चिन्तनका साथ आउँछौँ, नयाँ साथीहरू जोड्छौँ । हामी जित्यौँ भने हामी आउने, नभए फेरि उहाँहरूले चलाउने । नयाँ पोलिटिकल एड्भेन्चर नेपालमा नगर्नुस् । तर पोलिटिकल एड्भेन्चर नगर्नको लागि नागरिकहरूको निरन्तरको साथ हामी सबैलाई चाहिएको छ । तपाईंहरूलाई पनि चाहिएको छ, हामीलाई पनि चाहिएको छ ।’
सभापति थापाले संसदको गरिमा र सांसदको जिम्मेवारीप्रति पनि प्रश्न उठाए । संसदमा पुगेपछि सांसदहरूले आफूले बोल्ने हरेक शब्द र गर्ने हरेक निर्णयप्रति गम्भीर हुनुपर्ने उनको भनाई छ । हाल सांसदहरुले जे मन लाग्यो त्यही बोल्ने गरेको उनको आरोप छ ।
