३० आश्विन २०८३, शुक्रबार

वाग्मतीमा राप्रपाका तीनसहित ६ नवनियुक्त मन्त्रीले लिए शपथ

0
Shares


काठमाडौं । बागमतीका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

थापाले बिहिबार आफ्नै दल एमाले, सत्ता साझेदार दल नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका गरी ६ जनालाई मन्त्री नियुक्त गरेका हुन् । नेकपा एमालेबाट भरत केसी भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन्। केसी यसअघि नेपाली कांग्रेस नेतृत्वको संयुक्त सरकारमा वन तथा वातावरण मन्त्री थिए । थापालाई मुख्यमन्त्री बनाउन संसदीय दलभित्र प्रभावकारी भूमिका खेलेका दोलखाका केसी फेरि मन्त्री बनेका हुन्। एमालेकै ज्ञानबहादुर तामाङलाई बिना विभागीय मन्त्री नियुक्त गरिएको छ । मुख्यमन्त्री थापाले नेकपासँग मन्त्रालय भागबण्डा मिलाउन बाँकी रहेकाले उनको जिम्मेवारी पछि तोकिने बताएका छन्।

 

यसैगरी, नेकपाबाट सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका छन्। भागबण्डामा दुई वटा मन्त्रालय लिएको नेकपाबाट अर्का एक मन्त्रीलाई पछि नियुक्त गरिने भएको छ । यस्तै, राप्रपाबाट राजु विष्ट खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री, गिरबहादुर तामाङ स्वास्थ्य तथा सामाजिक मन्त्री र राजेन्द्र प्रजापति उद्योग उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री नियुक्त भएका छन्।बागमतीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ८ वटा मन्त्रालय छन्। अब कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ ।

थापाले तीन दलका ६३ जना सांसदको समर्थनमा बुधबार दाबी पेस गरेका थिए । नयाँ सरकार गठनमा राप्रपाको समर्थनलाई लिएर राप्रपाभित्र पनि विवाद भएको छ । राप्रपा संसदीय दलका नेता उद्धव थापालाई राप्रपाले पार्टी सदस्यसमेत नरहने गरी निष्काशन गरिसकेको छ । पार्टीको केन्द्रीय निर्देशनबिना प्रदेश संसदीय दलबाट गरिएको निर्णय पार्टीको आधिकारिक निर्णय नभएको भन्दै केन्द्रले असहमति जनाएको थियो । थापा बागमतीको सातौं मुख्यमन्त्री नियुक्त भएका हुन् ।