काठमाडौं । नेपालमा सवारीसाधनको बजार विस्तार भइरहेका बेला स्वदेशमै उत्पादन तथा एसेम्बल भएका अटोमोबाइल सामग्री र सवारीसाधनलाई समेत प्राथमिकतामा राख्दै नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । दुईपांग्रे, चारपांग्रे तथा व्यावसायिक सवारीसाधनका गरी ५३ ब्रान्डको सहभागिता रहेको छ। ती ब्रान्डले डेढ दर्जनभन्दा बढी नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन गर्ने तयारी गरेका छन् ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा १८औँ संस्करणको नाडा अटो शो २०२६ सुरु भएको छ । मंगलबार अटो शोको उद्घाटन गर्दै उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकलाई वातावरणमैत्री र प्रविधिमैत्री दिशामा अगाडि बढाउन हरित ऊर्जामा आधारित सवारी साधनहरूको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता भएको बताएका छन् । नेपालजस्तो विकासशील राष्ट्रका लागि अन्तर्राष्ट्रिय स्तरको सवारी प्रदर्शनीको महत्व बहुआयामिक हुने उनको भनाइ छ । यस्ता प्रदर्शनीले उपभोक्तालाई बजारमा भित्रिएका नयाँ प्रविधि, इन्धन दक्षता, सुरक्षा सुविधा र वातावरणीय प्रभावबारे प्रत्यक्ष जानकारी लिई सही निर्णय लिन सहयोग पुग्ने उनको विश्वास छ ।
समारोहलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको वर्तमान अर्थतन्त्रलाई गति दिन ‘रि–इञ्जिनियरिङ’ गर्नुपर्ने आवश्यकता रहेको बताए । हाल बजार शिथिल रहेको र समग्र माग बढ्न नसक्दा उद्योगी व्यवसायीहरू इतिहासकै कठिन मोडमा पुगेको उनको भनाइ छ । उनले सरकारले आगामी ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर पु¥याउने, १०० अर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने र १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखे पनि त्यसका लागि ठोस रणनीति र योजनाको अभाव रहेको बताए । बजेटमा घोषणा गरिएका कार्यक्रमहरू कार्यान्वयनमा नआएको भन्दै उनले सरकारको कार्यशैलीप्रति प्रश्न उठाए ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालमा अटोमोबाइल क्षेत्रमा स्वदेशी उत्पादनको सम्भावना बढ्दै गएको बताए । नेपाल अब गाडी आयात गर्ने देशमा मात्र सीमित नभइ बिस्तारै आत्मनिर्भरता र स्वदेशी उद्यमतर्फ बढिरहेको उनको भनाइ छ ।उनका अनुसार नाडाको ५० वर्षको इतिहासमा नेपालमा गाडीको बिक्री, खरिद तथा सर्भिसिङ मात्रै होइन, पार्टपुर्जा आपूर्तिदेखि उत्पादनसम्मका गतिविधि विस्तार भएका छन् ।
अटो शोमा पाँच दर्जनभन्दा बढी विश्वस्तरीय अटोमोबाइल ब्रान्डका प्यासेन्जर सवारीसाधनका साथै कमर्सियल सेग्मेन्टअन्तर्गतका ईभी माइक्रो, भ्यानदेखि ठूला कमर्सियल सवारीसाधनसम्म दर्शनीमा राखिएका छन् । हुन्डाई, टाटा, बीवाईडी, दिपल, लिपमोटर, बीएआईसी, होङ्छी, अवतार, एवान, चांगन, चेरी, जिली र स्काइवेललगायत विश्वस्तरीय ब्रान्डका साथै रोयल इन्फिल्ड, यामाहा र होन्डालगायत दर्जनौँ ब्रान्डका विभिन्न उत्पादन प्रदर्शनीमा छन् ।यसपटकको नाडा अटो शोमा नेपालमै बनेको सिप्रदी–यात्री नेपालको उत्पादन ‘यात्री पी–२’ समेत प्रदर्शनमा राखिएको छ । अटोकम्पोनेन्ट, टायर, लुब्रिकेन्ट, स्पेयर पाट्र्स तथा एसेसरिजका कम्पनीहरूको समेत उल्लेख्य सहभागिता छ । प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहेका छन् । त्यस्तै, १० वटाभन्दा बढी बैंक तथा वित्तीय संस्थाको समेत सहभागिता रहेको नाडाले जनाएको छ । मंगलबारदेखि सुरु भएको अटो शो ६ दिन सञ्चालन हुनेछ । अटो शो अवधिमा अटोमोबाइलसम्बन्धी नीतिगत बहस, लगानी, अटो बीमा, सडक पूर्वाधार, सरकारी नीति, नयाँ सवारीसाधनको बढ्दो आगमन र रोजगारीका विषयमा विशेष छलफल कार्यक्रमसमेत हुने नाडाले जनाएको छ ।
