काठमाडौं । राष्ट्रिय सभाको मङ्गलवारको बैठकमा बोल्दै सांसदहरूले देशमा बढ्दो असुरक्षा, बालिकाहरूमाथि भइरहेका जघन्य अपराध र सरकारी उदासीनताप्रति चिन्ता व्यक्त गरेका छन् । यस्तै मुलुकको कुटनीतिक अवस्था, जनस्वास्थ्यमा देखिएका गम्भीर समस्या, भौतिक पूर्वाधारको ढिलासुस्ती र बाढी–पहिरोको जोखिम जस्ता सार्वजनिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरुले बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको विभत्स हत्याको घटनालाई लिएर सरकारको कडा आलोचना गर्दै दोषीलाई तत्काल कारबाही गर्न माग गरेका छन् । उनिहरुले विद्यालय तहदेखि नै नैतिक र व्यावहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड दिएका छन् । यस्तै बाल यौन हिंसाका मुद्दाहरूलाई ‘फास्ट ट्रयाक कोर्ट’ मार्फत कारबाही गरी हदैसम्मको सजाय दिन पनि उनिहरुको माग छ ।
सांसद जगत तिमल्सिनाले नेपालको परराष्ट्र नीति र कुटनीतिक प्रतिनिधित्वमा देखिएको रिक्तताप्रति प्रश्न उठाए । ३१ वैदेशिक नियोगमध्ये २१ वटामा राजदुत नहुँदा ती नियोगहरू कार्यवाहकको भरमा चलिरहेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गरे ।
स्वास्थ्य क्षेत्रमा देखिएका समस्याका सम्बन्धमा सांसद खम्मबहादुर खातीले बाजुराको मार्तडीमा विशेषज्ञ चिकित्सकको अभाव हुँदा स्थानीय बासिन्दा स्वास्थ्य सेवाबाट विमुख हुनुपरेको बताए । सांसद रेखाकुमारी झाले प्रादेशिक अस्पतालहरू, विशेष गरी जनकपुरको प्रादेशिक अस्पतालमा दक्ष चिकित्सकको अभाव र लापरवाहीका कारण सुत्केरी महिलाहरूको मृत्यु हुने क्रम बढेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । सरकारी चिकित्सकहरूले निजी क्लिनिकमा बढी समय दिने गरेकाले अस्पतालको सेवा प्रभावित भएको उनको दाबी छ ।
झापामा फैलिएको जापानी इन्सेफ्लाइटिसको प्रकोप र स्वास्थ्य मन्त्रालयको मौनताप्रति सांसद रोशनी मेचेले आपत्ति जनाइन् । साथै, वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा मृत्यु भएका झापाका रमेश मेचेको शव २० दिन बितिसक्दा पनि स्वदेश ल्याउन नसकिएको भन्दै उनले कूटनीतिक पहलका लागि माग गरिन् । तराईको बाढी र डुबान समस्याका बारेमा बोल्दै सांसद धर्मेन्द्र पासवानले रौतहटको लालबकैया नदीको बाँध भत्किने जोखिममा रहेको र त्यसले १ हजारभन्दा बढी घरधुरी विस्थापित हुनसक्ने भन्दै तत्काल तटवन्ध निर्माणका लागि आग्रह गरे । उनले सर्पदंशको उपचारमा भ्याक्सिनको प्रभावकारितामाथि पनि प्रश्न उठाए ।
पूर्वाधार र प्रशासनिक ढिलासुस्तीका विषयमा सांसद रञ्जित कर्णले राजविराजका ५२ हजार सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने सरकारको पूर्वसहमति अझै कार्यान्वयन नभएको गुनासो गरे । राजविराज–भारदह सडक खण्डको निर्माण कार्य अलपत्र परेको र गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य मन्त्रीको अनुगमन पछि पनि बिरामीको अवस्थामा सुधार नभएको उनको भनाइ छ ।
सांसद वासुदेव घिमिरेले काठमाडौंको एक होस्टलमा दाङका वसन्त कालाथोकीको कुटपिटबाट भएको मृत्यु र त्यस लगत्तै उनकी आमाले गरेको आत्महत्याको घटनाबारे सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरे ।
यस्तै राष्ट्रिय सभाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । बैठकले उक्त विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रश्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।
