३० आश्विन २०८३, शुक्रबार

विपद् व्यवस्थापन र राहतका लागि राजनीतिक दलहरूको साझा प्रतिवद्धताः राहत तथा पुनर्निर्माणलाई तिब्रता दिने निर्णय

0
Shares


काठमाडौं । भदौ १० गते मुलुकका विभिन्न स्थानमा गएको विनाशकारी बाढी तथा पहिरोपछि उत्पन्न परिस्थितिको सामना गर्न र राहत तथा पुनर्निर्माणका कार्यलाई प्रभावकारी बनाउन राजनीतिक दलहरूले साझा प्रतिवद्धता व्यक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बिहीवार सम्पन्न सर्वदलीय बैठकमा सहभागी विभिन्न राजनीतिक दलका नेताहरूले विपद्को यस घडीमा सरकारलाई पूर्ण सहयोग गर्ने र राष्ट्रिय एकताका साथ अघि बढ्ने संकल्प गरेका हुन् । बैठकमा सहभागी दलहरूले विपद् व्यवस्थापन, खोज तथा उद्धारमा सरकारलाई पूर्ण सहयोग गर्ने र दीर्घकालीन पुनर्निर्माणका लागि संसदीय संयन्त्र बनाउने निर्णय गरेका छन् ।

बैठकमा नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले विपद् व्यवस्थापनलाई दीर्घकालीन रूपमा राष्ट्रिय प्राथमिकताको विषय बनाउनुपर्नेमा जोड दिए। उनले जलवायु परिवर्तन र हिमाली क्षेत्रमा बढ्दो जोखिमलाई गम्भीरताका साथ लिँदै राजनीतिक दलहरूलाई आफ्ना संयन्त्रमार्फत राहत संकलनको अनुमति दिनुपर्ने धारणा राखे । राष्ट्रिय विपत्तिको समयमा नेपालका सबै राजनितिक दल सरकारसँगै रहेको बताउदै उनले विपतको घडीमा राज्यका सबै संयन्त्रसँगै राजनीतिक दल, निजी क्षेत्र तथा सामाजिक संघ–संस्थालाई समेत परिचालन गर्नुपर्नेमा जोड दिए।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपालले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय स्तरमा सशक्त आवाज उठाउनुपर्ने बताए । उनले विपद् पूर्वसूचना प्रणालीलाई थप भरपर्दो र प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै संकटको समयमा सबै दल एकजुट रहेको सन्देश प्रवाह गर्न आवश्यक रहेको बताए ।

 

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले उद्धार कार्यलाई थप तिब्र र समन्वित बनाउन सरकारको ध्यानाकर्षण गराए । उनले बेपत्ताहरूको खोजीका लागि विशेष कार्यदल गठन, पूर्वाधारको तत्काल मर्मत तथा विद्युत र खानेपानी सेवा यथाशीघ्र सुचारु गर्न माग गरे । महासचिव पोखरेलले विपद् व्यवस्थापनमा छिमेकी मुलुकहरूसँगको सूचना आदानप्रदान संयन्त्रलाई बलियो बनाउनुपर्नेमा समेत जोड दिए ।

 

बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राहत र उद्धारमा हुने राजनीतिकरण अन्त्य गरी एकद्वार प्रणाली लागू गर्नुपर्ने सुझाव दिए । उनले नेपाल, भारत र चीनबीच त्रिपक्षीय सूचना समन्वय संयन्त्रको आवश्यकता औंल्याए ।

 

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारको राहत प्रयासमा आफूहरूको पूर्ण समर्थन रहने प्रतिवद्धता व्यक्त गरे।

 

विपद्को क्षति र अन्तर्राष्ट्रिय सहयोगका सन्दर्भमा जानकारी दिँदै अर्थमन्त्री एवं रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले विश्व बैंकले १७ करोड अमेरिकी डलर, अमेरिका र एसियाली विकास बैंकले ५–५ लाख डलर सहयोग गर्ने प्रतिवद्धता जनाएको जानकारी दिए । उनले करिव ७०० मेगावाट क्षमताका विद्युत आयोजनामा क्षति पुगेको र रसुवागढी लगायतका क्षेत्रमा मानवीय क्षति भएको उल्लेख गर्दै प्रभावित क्षेत्रका लागि सरकारले छिट्टै विशेष आर्थिक प्याकेज घोषणा गर्ने बताए ।

 

बैठकमा सहभागी सुरक्षा निकाय र मन्त्रालयका प्रतिनिधिहरूले सुरुङ मार्ग तथा संवेदनशील क्षेत्रमा उद्धार कार्य जारी रहेको र सञ्चार तथा आवागमन पुनःस्थापना गर्न टोली परिचालन गरिएको जानकारी दिएका थिए । जनमत पार्टीका नेता चन्दन सिंहले नागढुंगा क्षेत्रको ट्राफिक जाम र जनजीवनको समस्या समाधानमा जोड दिए । बैठकको समापन गर्दै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय विपद्को यस घडीमा सबै दलले देखाएको जिम्मेवारीपन र ऐक्यवद्धताप्रति आभार व्यक्त गरे ।