३० आश्विन २०८३, शुक्रबार

गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण

0
Shares


काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली नदीले क्षति पु¥याएका मुलुकका विभिन्न क्षेत्रमा पुगेको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै गैरआवासीय नेपाली संघ ले ५ करोड रुपैयाँ बराबरको राहत प्याकेज घोषणा गरेको छ ।

संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र केन्द्रिय उपाध्यक्ष रोजिना प्रधान राईसहितको टोलीले नुवाकोटको बट्टार तथा त्रिशूली बजारलगायतका प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी राहत सामग्री वितरण गरेको हो । स्थलगत निरीक्षणका क्रममा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा देखिएको भन्दा वास्तविक क्षति निकै भयावह रहेको बताए । डा. महतोले पहिलो चरणमा ५ करोड बराबरको राहत वितरण गरिने र त्यसपश्चात नेपाल सरकारसँग समन्वय गरी पुनर्निर्माणका कार्यमा गैरआवासीय नेपालीहरूको भूमिकाबारे छलफल गरिने जानकारी दिए ।

संघकी केन्द्रिय उपाध्यक्ष रोजिना प्रधान राईले विपद्को घडीमा विदेशमा रहेका नेपालीहरूको मन रोएको उल्लेख गर्दै पीडितहरूलाई सहयोग गर्नु सबैको कर्तव्य भएको बताइन्। उपाध्यक्ष राईकाअनुसार संघले स्थानीय प्रशासन, प्रमुख जिल्ला अधिकारीको कार्यालय र स्थानीय तहसँग समन्वय गरी राहत वितरण कार्यलाई प्रभावकारी बनाउनेछ । विगतका भूकम्प र कोभिड–१९ को समयमा पनि संघले सक्रिय भूमिका खेलेको स्मरण गराउँदै उनले आगामी दिनमा प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणमा पनि सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन।

अहिले पनि प्रभावित क्षेत्रमा नेपाली सेनालगायतका सुरक्षा निकायले बेपत्ताहरूको खोजी र घाइतेहरूको उद्धार कार्य जारी राखेका छन् । एनआरएनएको टोलीले नुवाकोटपश्चात अन्य जिल्लाका प्रभावित क्षेत्रहरूमा पनि पुगेर राहत वितरण गर्ने लक्ष्य राखेको छ ।