३० आश्विन २०८३, शुक्रबार

बाढी प्रभावित क्षेत्रमा सडक सञ्चालन र शव व्यवस्थापनमा तिब्रता दिन नेता आङ्देम्बेको आग्रह

0
Shares


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता भीष्मराज आङ्देम्बेले बाढी र पहिरोका कारण अवरुद्ध सडक सञ्चालन, राहत तथा उद्धार र शव व्यवस्थापनमा तदारुकता देखाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

शनिवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराएका हुन् । नेता आङ्देम्बेले बाढी प्रभावित क्षेत्रमा सडक पिच भएपनि लेदो र माटोका कारण यातायात ठप्प रहेको बताए । तत्काल स्काभेटर प्रयोग गरेर लेदो पन्छाउन सके सवारी साधन र बेलिब्रिजका सामग्रीहरू सम्बन्धित स्थलसम्म पु¥याउन सहज हुने उनको भनाइ छ । यस विषयमा प्रधानमन्त्रीले काम भइरहेको जानकारी दिएको उनले बताए । पुलहरू क्षतिग्रस्त भएको र मौसमको प्रतिकूलताका कारण हेलिकप्टरबाट गरिने उद्धारमा समेत समस्या देखिएकाले विकल्पका रूपमा तुरुन्त ‘तुइन’को व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ,

नेता आङदेम्बेले रसुवाका दुर्गम तथा विकट क्षेत्रमा राहत सामग्री पुग्न नसकेको भन्दै प्रधानमन्त्री बालेन्द्र साहको ध्यानाकर्षण गराए । नुवाकोटका तल्लो क्षेत्रहरूमा राहत केन्द्रित भएपनि रसुवाका माथिल्लो भेगहरू अझै उपेक्षित रहेको उनको भनाइ छ । राहत वितरणमा सिमित सामाजिक संस्थाहरू मात्र संलग्न गराइएकोमा आपत्ति जनाउँदै उनले राज्यले पहिचान गरेका र स्थानीय प्रशासनले विश्वास गरेका अन्य विश्वसनीय संस्थाहरूलाई पनि परिचालन गर्नुपर्नेमा जोड दिए ।

जवाफमा प्रधानमन्त्रीले प्रभावित क्षेत्रमा उद्धारका लागि पहल भइरहेको र छिट्टै कार्य अगाडि बढ्ने आश्वासन दिएको नेता आङदेम्बेले सञ्चारकर्मीहरूलाई जानकारी दिए ।