काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि हालसम्म ७ सय ३४ शव फेला परेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार बिहान सम्मको तथ्याङ्कअनुसार बाढीका कारण हालसम्म ७ सय ३४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २ हजार ४९८ जना अझै सम्पर्कविहीन रहेका छन् । प्राधिकरणकाअनुसार बाढी र पहिरोका कारण विभिन्न जिल्लामा गरी ७ सय ३४ जनाको शव फेला परेको छ । जसमध्ये सबैभन्दा बढी चितवनमा २ सय ५९ जनाको शव फेला परेको छ । । अन्य जिल्लाहरूमा नवलपरासी पूर्वमा १ सय ८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको छ । फेला परेका शवहरूमा विभिन्न मानव अङ्गहरूसमेत रहेको प्राधिकरणले जनाएको छ । अझै पनि २ हजार ४ सय ९८ जना व्यक्तिहरू सम्पर्कविहीन रहेका छन् ।
बेपत्ता हुनेहरूमा सुरक्षाकर्मी (नेपाल प्रहरी २७, नेपाली सेना ४५, सशस्त्र प्रहरी १३), भन्सार र अध्यागमनका कर्मचारी, जलविद्युत आयोजनाका ९ सय ३३ कामदार तथा ५ सय ८९ जना विदेशी नागरिक रहेका छन् । रसुवा, नुवाकोट र मकवानपुर जिल्लाबाट ठुलो सङ्ख्यामा स्थानीयहरू बेपत्ता भएको विवरण प्राप्त भएको छ । उद्धार कार्यका क्रममा हालसम्म ८ हजार १ सय ८६ जनाको जीवितै उद्धार गरिएको छ । उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी कुल १९ हजार ८ सय ९५ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बाढीमा परी घाइते भएका २४२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सरकारले प्रभावित क्षेत्रमा राहत वितरणलाई तिब्रता दिएको छ । रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ । साथै, प्रभावित १५ वटा पालिकालाई कुल ६ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ । राहत सामग्रीतर्फ हालसम्म ३७ ट्रक खाद्य तथा गैरखाद्य सामग्री र हेलिकप्टरमार्फत ७ उडान गरी अत्यावश्यक वस्तुहरू प्रभावित क्षेत्रमा पु¥याइएको छ । उत्तरगया र धुन्चे क्षेत्रमा मात्रै २ टन खाद्य सामग्री पठाइएको छ । सञ्चार सेवा अवरुद्ध भएका स्थानहरूमा सञ्चार सेटहरू समेत पठाइएको प्राधिकरणले जनाएको छ । पहिचान हुन नसकेका शवहरूलाई विभिन्न जिल्लाका २१ वटा अस्पतालमा सुरक्षित राखिएको छ ।
