काठमाडौं । रनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा आइपरेको प्राकृतिक विपत्तिको घडीमा कसैले पनि राजनीति गर्न नहुने बताएका छन् ।
आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा रसुवाको बाढीपहिरो सम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका हुन् । एमाले महासचिव शङ्कर पोखरेलले नेतृत्व गरेको टोलीले रसुवाको प्रभावित क्षेत्रको अनुगमन गरी तयार पारेको प्रतिवेदन बुझ्ने क्रममा अध्यक्ष ओलीले वर्तमान समय राष्ट्रिय शोक र पीडाको विषय भएको उल्लेख गरे । उनले यो संकटलाई साझा दायित्वका रूपमा ग्रहण गरी समाधानका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए ।
अध्यक्ष ओलीले सरकारले राज्यको सामथ्र्यमाथि एकाधिकार जमाउँदा विपद् व्यवस्थापन र उद्धार कार्य प्रभावकारी हुन नसकेको टिप्पणी गरे । महासचिव शंकर पोखरेलले बुझाउनुभएको उक्त प्रतिवेदन ग्रहण गर्ने क्रममा अध्यक्ष ओलीले सरकार आम नागरिकका लागि ‘अदृश्य’ र ‘अगम्य’ भएको आरोप लगाए । सबै राजनीतिक दलहरूले विपद्लाई साझा समस्याका रूपमा लिएर सहयोगको प्रतिवद्धता जनाउँदा समेत सरकारले राजनीतिक जस लिने होडबाजी गरेको ओलीको भनाइ छ ।
महासचिव पोखरेलले सरकारले रसुवा वाढीमा परी ज्यान गुमाएकाहरुको शव पहिचान तथा व्यवस्थापनका लागि अपनाएको नीति उचित नभएको बताए । शवलाई पहिचान नगरि जमिनमुनी व्यवस्थापन गर्ने कार्य गलत भएको उनको भनाइ छ । शवको डीएनए परीक्षणपछि पुनः उत्खनन गर्ने गरी व्यवस्थापन गरिएको भएपनि उक्त प्रक्रियाबाट पीडित परिवार सन्तुष्ट हुन नसकेको उनले बताए ।
एमालेले प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि पार्टी पङ्क्तिबाट सहयोग संकलन गर्न प्रदेश इन्चार्ज र अध्यक्षहरूलाई निर्देशन दिएको पनि महासचिव पोखरेलले जानकारी दिए ।
