१ कार्तिक २०८३, शनिबार

जलवायु विपद्का लागि नेपाल जिम्मेवार छैन, विकसित देशहरुसँग क्षतिपूर्ति माग्नुपर्छः ओली

0
Shares


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीपछि सरकारले खोज, उद्धार र राहतको काम प्रभावकारी रुपमा गर्न नसकेको आरोप लगाएका छन् ।

सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा एमाले नेकपा एमाले राजधानी प्रदेश कमिटीबाट बाढी पीडितलाई हस्तान्तरण गरिएको दश लाखको चेक ग्रहण गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले रास्वपा सांसद र मन्त्रीहरुलाई लक्षित गर्दै केहीले नागरिकलाई हप्कीदप्की गरेर फर्किने, केहीले आधारहीन निर्देशन दिने र केहीले समस्यामाथि थप समस्या सिर्जना गर्ने टिप्पणी पनि गरे ।विपद्पछि केन्द्रिय सरकारलाई खोज्नुपर्ने अवस्था रहेको टिप्पणी गर्दै उनले निजी क्षेत्रका हेलिकप्टरलाई उद्धारमा प्रयोग गर्न सरकारले रोक लगाएको भन्दै असन्तुष्टि जनाए ।

अध्यक्ष ओलीले जलवायु परिवर्तनका कारण हुने विपद्बाट नेपालजस्ता विकासशील तथा जोखिममा रहेका मुलुकले भोग्नुपरेको क्षतिको पूर्ति विकसित मुलुकले गर्नुुपर्ने बताए । जलवायुजन्य विपद् तथा पर्वतीय विपद्का लागि नेपालजस्ता मुलुक जिम्मेवार नरहेको उनको भनाइ छ । उनले रसुवा बाढीजस्तै मानवीय कारणबाट भएका पर्वतीय तथा अन्य विपद्मा नेपालको कुनै योगदान नरहेको दाबी गर्दै वातावरण विनाशमा बढी योगदान गर्ने विकसित देशले त्यसको क्षति व्यहोर्नुपर्ने बताए ।

अध्यक्ष ओलीले भोटेकोशीमा आएको बाढी एउटा विपद्को घटना मात्र नभई विश्वव्यापी वातावरणीय संकटको गम्भीर संकेतका रूपमा लिनुपर्ने बताए । भोटेकोशीको बाढीले विश्वव्यापी वातावरणीय संकट र हिमालको भविष्य संकटमा रहेको संकेत दिएको उनको भनाइ छ ।