काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले रसुवाको भोटेकोशीमा आएको बाढीप्रभावित क्षेत्रमा खोज, उद्धार र राहत वितरणको गति बढाउन सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकको आकस्मिक समयमा बोल्दै उनीहरुले यस्तो माग गरेका हुन् । बाढीमा परी सम्पर्कविहीन भएका नागरिकका आफन्तहरु अझैपनि आफन्त फर्किने आशामा बसिरहेको उनीहरुको भनाइ छ । सांसद मनमाया विश्वकर्माले विपद्को समयमा खोजी कार्यलाई अझ तिब्र बनाउन सरकारको ध्यानाकर्षण गराइन् । उनले अगामी दिनमा आउनसक्ने सम्भावित विपद्को पूर्वतयारीमा जुट्न समेत सरकारको ध्यानाकर्षण गराइन्। विपद्को संकटलाई मध्यनजर गर्दै दीर्घकालीन रणनीति तयार गर्न समेत उनले सरकारसँग माग गरिन्।
उनले भनिन्, ‘यस विपत्तीको समयमा सरकारले खोजि कार्यलाई अझ तिब्र बनाओस् । र विपद्बाट भविष्य पर्न जाने संकटलाई मध्यनजर गर्दै सरकारले रणनीति तयार गर्न पनि म यसै सम्मानित सदनमार्फत जोडदार माग गर्दछु ।’
सांसद सन्दीप रानाले रसुवाको भोटेकोशी बाढीमा परी लुम्बिनी प्रदेशका २ सय ५५ जना नागरिक अझै सम्पर्कविहीन रहेको उल्लेख गरे । उनले सरकारले विपद्पछि खोज तथा उद्धारमा तदारुकता देखाउन नसकेको भन्दै असन्तुष्टि समेत जनाए । उनले राजनीतिक दल, नागरिक समाज र सबै पक्षलाई साथमा लिएर खोज, उद्धार र राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, ‘यस राष्ट्रिय अपदामा लुम्बिनी प्रदेशमा समेत ठूलो मानवीय क्षति भएको छ । अझैपनि २५५ जना सम्पर्कविहीन हुनुभएको छ । उहाँहरुको खोजि तिब्र बनाउन नेपाल सरकारसँग माग गर्दछु । र यस विपद्को घडिमा पक्ष विपक्ष सबैलाई एकसाथमा लिएर र हामीलाई समेत कहाँ प्रयोग गर्नुपर्छ प्रयोग गरेर सरकारले खोज, उद्धार र राहत वितरणको गति बढाओस् भन्ने कुरा राख्न चाहान्छु । राष्ट्रिय आपदाको समयमा हामी सरकारलाई पूर्ण रुपमा सहयोग गरेर सामना गर्नको लागि कटिबद्ध छौँ ।’
सांसदहरुले छिमेकी राष्ट्रबाट आवश्यकताअनुसार प्रविधि र जनशक्ति सहयोग मागेर भएपनि उद्धार कार्यलाई प्रभावकारी बनाउन माग गरेका छन् ।
