काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा तथ्य, प्रमाण र वैज्ञानिक दाबीसहित प्रस्तुत हुन प्रधानमन्त्री बालेन्द्र साहलाई सुझाव दिएका छन्।
आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकता र ‘ग्रान्ड शो’ मा मात्र सीमित नगर्न आग्रह गरेका हुन्। विदेश भ्रमणको तयारीका लागि उनले प्रधानमन्त्रीलाई आफ्नै सचिवालयको मात्र भर नपरी विज्ञहरू, विश्वविद्यालयका अनुसन्धानकर्ता र सम्बन्धित क्षेत्रका विशेषज्ञहरूसँग व्यापक परामर्श गर्न सुझाव दिए । नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्याहरूलाई विश्व मञ्चमा सशक्त ढंगले उठाउनुपर्ने उनकोभ नाइ छ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीजस्ता प्राकृतिक विपत्तिहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले न्यून हरितगृह ग्यास उत्सर्जनका बाबजुद नेपालले भोग्नुपरेको क्षतिलाई वैज्ञानिक प्रमाणका साथ अन्तर्राष्ट्रिय समुदायमा लैजानुपर्नेमा जोड दिए।विगतमा प्रधानमन्त्रीहरूले उठाएका ‘हिमालदेखि महासागरसम्म’ का विषय र कोप–२८ मा अघि सारिएका जलवायु न्यायका पहलहरूलाई निरन्तरता दिँदै अहिलेको तयारीलाई थप मजबुत बनाउनुपर्ने थापाको भनाइ छ।
सभापति थापाले भने, ‘हामीले वर्षौँदेखि जलवायु परिवर्तनको मारमा परेको कुरा उठाउँदै आएका छौँ, तर अबका दाबीहरू वैज्ञानिक अध्ययनमा आधारित हुनुपर्छ । नेपालले हानि र नोक्शानीको मुद्दा मात्र नभई अनुदानमा आधारित जलवायु वित्तका लागि पनि कडा लबिङ गर्नुपर्छ । यो भन्दा अगाडि पनि प्रधानमन्त्रीहरू महासभामा जानुभएको छ, हिमालदेखि महासागरसम्मका कुरा उठेका छन् । पूर्वप्रधानमन्त्रीको कार्यकालमा कोप–२८ मा भएका पहलहरू र अन्य अन्तर्राष्ट्रिय मञ्चमा उठाइएका ‘क्लाइमेट जस्टिस’ का विषयहरूलाई निरन्तरता दिँदै अहिलेको तयारीलाई थप मजबुत बनाइनुपर्छ ।’
सभापति थापाले पार्टीको आन्तरिक सांगठनिक कार्य र राजनीतिक संवादभन्दा प्राकृतिक विपत्तिमा परेका नागरिकको सेवा अहिलेको मुख्य प्राथमिकता रहेको बताए । पार्टीको महाधिवेशन र आन्तरिक छलफलहरू नियमित प्रक्रिया भएको उल्लेख गर्दै अहिलेको संकटपूर्ण घडीमा राजनीतिक जोडघटाउभन्दा जनसेवा महत्वपूर्ण रहेको स्पष्ट पारे । उनले बाढी र पहिरोका कारण ठूलो क्षति व्यहोरेका धादिङ, रसुवा र नुवाकोट लगायतका जिल्लाका प्रभावित नागरिकका लागि पार्टीका कार्यकर्ताहरू फिल्डमा खटिएको जानकारी दिए । स्थलगत रूपमा प्राप्त तथ्य र विवरणका आधारमा पार्टीले आगामी कार्ययोजना तय गरी निरन्तर काम गर्ने उनको भनाइ छ ।
उनले भने, ‘शेरबहादुर देउवा, डा. शेखर कोईराला र पूर्णबहादुर खड्का लगायतका नेताहरूसँगको संवाद र भेटघाटलाई सञ्चारमाध्यमले चासोका साथ हेर्नु स्वाभाविक हो । तर मेरो लागि ती संवादभन्दा अहिले धादिङ, रसुवा र नुवाकोटका पीडित नागरिकको समस्या समाधान र उहाँहरूसँगको संवाद बढी महत्त्वपूर्ण छ । यसपटक हामीलाई कुनैपनि चाडपर्वले छुँदैन । सर्वश्व गुमाएका पीडितहरूको साथमा रहेर हामी निरन्तर काम गर्नेछौँ ।’
विपद्को यस घडीमा यस वर्षको दशैँ, तिहार लगायतका कुनैपनि चाडपर्वमा विश्राम नलिई काम गर्ने प्रतिवद्धता थापाले व्यक्त गरे।
