काठमाडौं । सुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३ सय ५५ जनाको शव फेला परेको छ ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा र आसपासका जिल्लामा आएको विनाशकारी बाढीको पछिल्लो वस्तुस्थिति सार्वजनिक गरेको हो । सोमबार बिहानसम्मको तथ्याङ्कअनुसार बाढीका कारण हालसम्म १ हजार ३ सय ५५ जनाले ज्यान गुमाएका छन् । प्राधिकरणकाअनुसार बाढीमा परी निधन भएकामध्ये सबैभन्दा बढी शव चितवन जिल्लामा फेला परेका छन् । जहाँ ३ सय ६३ जनाको शव फेला परेको छ । फेला परेका शवहरूमध्ये हालसम्म ९८ जनाको मात्र सनाखत भई आफन्तलाई बुझाइएको छ । हालसम्म ४ हजार ९ सय ९६ जना व्यक्तिहरू सम्पर्कविहीन रहेका छन् । प्राधिकरणकाअनुसार सम्पर्कविहीनको सूचीमा उद्धार गरिएका र सनाखत हुन बाँकी रहेका व्यक्तिहरू समेत पर्नसक्ने भएकाले तथ्याङ्क रुजु गर्ने कार्य भइरहेको छ ।
उद्धार कार्यमा हालसम्म १३ हजार ३ सय ९६ जनालाई सुरक्षित स्थानमा पु¥याइएको छ । बाढीमा परी घाइते भएका ६ हजार ६ सय ७२ जनाको उपचार गरिएको छ, जसमध्ये २ सय २८ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने ३ सय २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । खोज तथा उद्धारका लागि कुल २१ हजार ४ सय २ जना सुरक्षाकर्मी कार्यक्षेत्रमा खटिएका छन् । भदौ २१ गते मात्रै रसुवामा हेलिकप्टर र ट्रक मार्फत खाद्यान्न, जेनेरेटर, हाइजिन किट र विद्यार्थीहरूका लागि आवश्यक शैक्षिक सामग्री ढुवानी गरिएको छ । स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रमा १ सय ५० जना स्वास्थ्यकर्मी परिचालन गर्नुका साथै २९ जना मनोसामाजिक परामर्शदाता पनि खटाएको छ ।बेपत्ता, घाइते र उद्धार गरिएका व्यक्तिहरूको विस्तृत विवरण प्राधिकरणको आधिकारिक फेसबुक पेज र वेबसाइटमा अध्यावधिक गरिएको प्राधिकरणले जनाएको छ ।
