काठमाडौं । रसुवा बाढी प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले प्रधानमन्त्री दैवी प्रकोप तथा उद्धार कोषमा ५० लाख रुपैयाँ नगद सहयोग गरेको छ ।
बाढीलगत्तै नाइमाले ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको थियो । सोही घोषणाबमोजिम मंगलबार अध्यक्ष ऋतुसिंह वैद्यको नेतृत्वमा नाइमाको बोर्ड समितिले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा नाइमाका बोर्ड सदस्यहरू यमुना श्रेष्ठ र हेमन्त गोल्छा, बीवाईडीका लागि साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, नाइमाका कार्यकारी निर्देशक राज कुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारीलगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा अध्यक्ष वैद्यले सहयोग रकम तुलनात्मक रूपमा सानो भए पनि यसको मूल भावना विपद्को घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता र साथ व्यक्त गर्नु रहेको बताएकी थिइन्।