१ कार्तिक २०८३, शनिबार

सरकारले संविधानको मर्ममाथि प्रहार गरेको सत्तारुढ सांसद सिंहको आरोप, पुर्ननिर्माणको कामलाई लिएर बिपिन आचार्यले उठाए प्रश्न, ग्यासको सहज आपूर्ति गर्न अन्यको माग

0
Shares


काठमाडौं । सांसदहरुले सरकारको कार्यशैली विकास निर्माणमा भएका ढिलाई लगाएतका बिभिन्न समसामायिक कुराहरुका सरकारको ध्यानाकर्षण गराएका छन् । बिहिबार बसकेको प्रतिनिधि सभा बैठकमा बोल्दै सत्तारुढ देखि विपक्षी दलका सांसदहरुले सरकारको कार्यशैलीलाई लिएर बिभिन्न प्रश्न उठाएका हुन् ।सारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले सरकार संविधानअनुसार नचलेको आरोप लगाए । संविधान देखाउँदै चुनावमा जाँदा संविधान बदल्ने कुरा नगरिएको उनको भनाइ छ । गणतन्त्र, संघीयता समावेशीता, धर्मनिरपेक्षतामा प्रहार भएको बताउदै उनले प्रधानमन्त्रीको व्यवस्था सल्लाहकारको व्यवस्थामा परिवर्तन भएको कटाक्ष गरे । उनले प्रधानमन्त्रीको जति योग्यता भए सल्लाह दिन आग्रह गरे । प्रधानमन्त्रीका सल्लाहकार हार्डबर्ड, क्याम्ब्रिज, अक्सपोर्डमा पढेको हो ? भनी सोधे । उनले हुकुमी शासन चलेको आरोप लगाए ।

सत्तारूढ दल रास्वपाकै सांसद लिमा अधिकारीले भोटेकोसी बाढीपछि सडक र सीमानाका अवरुद्ध हुँदा मुलुकमा आपूर्ति संकट र महँगीको जोखिम बढेको भन्दै सरकारलाई सचेत गराइन् । ्बाढीले सडक र पुल मात्र नभई हजारौँ नागरिकको घरबार, जीविकोपार्जन र बाँच्ने आधार समेत खोसिएको उनको भनाइ छ । विपत्तिबाट नागरिक सामान्य अवस्थामा फर्कन नपाउँदै आपूर्ति व्यवस्थामा अर्को संकट देखिन थालेको उनले उल्लेख गरिन् ।

रास्वपाका महामन्त्री समेत रहेका सांसद विपिन कुमार आचार्यले जेनजी आन्दोलनमा क्षति भएका सरकारी संरचनाको पुनर्निर्माण सुस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । निजी क्षेत्रले क्षतिग्रस्त व्यापारिक केन्द्रहरूलाई तीव्र गतिमा पुनर्निर्माण गरिसकेपनि सरकारी संचरना भने निर्माण हुन नसकेको बताउदै उनले राज्यका प्रमुख संरचनाको पुनर्निर्माण भने अझै सुस्त रहेको गुनसाो गरे । सिंहदरबार र संसद लगायतका भवन हालसम्म पनि जस्ताकोतस्तै रहेको उनको भनाइ छ । राज्यको मुटु मानिने सिंहदरबार र सार्वभौम संसद्को पुनर्निर्माणको गति सुस्त हुँदा रसुवा र नुवाकोटलगायतका क्षेत्रका नागरिकले आफ्नो पुनर्निर्माण पनि प्रभावकारी रूपमा अघि बढ्नेमा कसरी विश्वास गर्ने ? उनले प्रश्न गरे

नेपाली कांग्रेसकी सांसद गंगालक्ष्मी अवालले रसुवा बाढी प्रभावितको उद्धारमा खटिएका टोलीहरूलाई उद्धार सामग्री अभाव भएको बताइन् । उद्धारमा खटिएका भक्तपुरका अरुण सैंजुले आफूलाई उद्धार सामग्रीको अभाव रहेको जानकारी दिएको उनको भनाइ छ ।सांसद अवालका अनुसार सैंजु १० भदौबाट रसुवा पुगेर सुरक्षाकर्मीहरूका साथ बाढी प्रभावितको उद्धार गर्दै आएका छन् । उनले रसुवाको भोटेकोशी बाढीमा परि बेपत्ताको खोजी, राहत र उद्धारमा सरकारको ध्यानाकर्षण गराइन् ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रेमबहादुर वयकले ग्यास अभावका कारण नागरिकले भोग्नुपरेको समस्याप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराए । काठमाडौंलगायत विभिन्न स्थानमा विद्यार्थी तथा सर्वसाधारणले खाना पकाउने ग्यास नपाएर सांसदहरूलाई फोनमार्फत सहयोग माग्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाई छ । आपूर्ति व्यवस्थापनमा देखिएको कमजोरी र लापरवाहीप्रति प्रश्न उठाउँदै सरकारसँग तत्काल समस्या समाधान गर्न माग गरे । जेन्जी आन्दोलनका आधारमा बनेको सरकारमाथि पनि नागरिकमा निराशा बढ्दै गएको उनको भनाइ छ ।

सांसद हरिमोहन भण्डारीले प्रतिनिधिसभाको उद्योग समितिको सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन्।जनतालाई ग्यास दिन नसकेको विषयमा आपत्ति जनाउँदै उक्त समितिको सदस्य पदबाट राजीनामा दिने बताए।

यस्तै सांसदहरुले अस्पतालको बिल तिर्न नसकेर अस्पतालबाहिर सुत्केरी हुनुपर्ने अवस्था आउनु लज्जास्पद भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनिहरुले सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि पुगेकी एक सुत्केरी महिलाले आर्थिक अभावको कारण अस्पताल बाहिर सुत्केरी हुनु परेको बताएका हुन् ।