काठमाडौं । नेपाल होस्टल एशोसिएसन केन्द्रीय कार्यसमितिले बाढी प्रभावित तथा पीडित परिवारको राहत तथा पुनःस्थापनाका लागि रु. २ लाख ७७ हजार ४१२ सहयोग गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) ले मिति २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका नागरिकका लागि राहत तथा आर्थिक सहयोग संकलन गर्न आफ्ना सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ, एसोसिएट तथा द्विराष्ट्रिय संघहरू एवं सम्पूर्ण उद्यमी–व्यवसायीहरूलाई उक्त मानवीय अभियानमा सहयोग गर्न आह्वान गरेको थियो। महासंघको उक्त आह्वानलाई आत्मसात् गर्दै नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत संघ सदस्य तथा महासंघको सामाजिक सेवा तथा विपद् व्यवस्थापन समितिको सदस्यसमेत रहेको नेपाल होस्टल एशोसिएसनले सामाजिक उत्तरदायित्व तथा मानवीय दायित्व अनुरूप बाढी प्रभावित तथा पीडित परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग संकलन गरेको हो ।
एशोसिएसनले आफ्ना जिल्ला कार्यसमिति, होस्टल व्यवसायी तथा सदस्यहरूबाट स्वेच्छिक रूपमा सहयोग संकलन गर्नुका साथै केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूबाट समेत सहयोग जुटाएको जनाएको छ ।
संकलित रकममध्ये रुपन्देही जिल्ला कार्यसमितिबाट रु. ६६ हजार ६६०, कास्की जिल्ला कार्यसमितिबाट रु. ५ हजार ५५५, ललितपुर जिल्ला कार्यसमितिबाट रु. १ लाख ३३ हजार ५८७ र केन्द्रीय कार्यसमितिबाट रु. ७१ हजार ६१० रहेको छ। यसरी कुल रु. २ लाख ७७ हजार ४१२ संकलन भएको हो ।
नेपाल होस्टल एशोसिएसनका केन्द्रीय अध्यक्ष नरेन्द्र ब. बोहराले उक्त रकम बराबरको चेक नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । चेक हस्तान्तरण कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, सामाजिक सेवा तथा विपद् व्यवस्थापन समितिका सभापति राजकुमार कार्की, नेपाल होस्टल एशोसिएसनका पदाधिकारी तथा ललितपुर जिल्ला अध्यक्षलगायतको उपस्थिति रहेको थियो । हस्तान्तरण गरिएको रकम बाढी प्रभावित तथा पीडितहरूको राहत तथा पुनःस्थापनामा प्रयोग हुने एशोसिएसनले जनाएको छ ।
अध्यक्ष बोहराले विपद्को समयमा सामाजिक उत्तरदायित्व र मानवीय दायित्वप्रति संस्थागत ऐक्यबद्धता तथा सहभागिता महत्वपूर्ण हुने बताए । उनले सहयोग अभियानमा सहभागी हुने सम्पूर्ण जिल्ला कार्यसमिति, होस्टल व्यवसायी, केन्द्रीय पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूप्रति आभार व्यक्त गर्दै सहयोग रकम वास्तविक प्रभावित तथा पीडित परिवारसम्म पुग्ने गरी सदुपयोग हुने विश्वास व्यक्त गरे ।
नेपाल होस्टल एशोसिएसनले विपद्का समयमा सरकार, निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा संघसंस्थाबीचको सहकार्य र समन्वयलाई निरन्तरता दिने जनाएको छ ।
