काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि नगरेमा यातयात भाडा पनि नबढ्ने बताएका छन् ।
यातयात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरी आयोजना गरेको छलफल कार्यक्रममा उहाँले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपनि नेपालमा सरकारले चाडवर्पको समयमा मुल्य बढाउन नहुने बताएका हुन् । उनले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेमा सार्वजनिक यातायातको भाडा वृद्धि गर्न नहुने बताए । राज्यले पेट्रोलियम पदार्थमा थप घाटा व्यहोर्नुपर्ने अवस्था आएपनि कम्तीमा एक महिनासम्म मूल्यवृद्धिको भार उपभोक्तामाथि नथोपर्न उनले सरकारसँग आग्रह गरे । उनले सरकारले तोकेको भाडादरभन्दा बढी रकम असुल्ने अवस्था आउन नदिन आधिकारिक टिकट काउन्टर र सम्बन्धित व्यक्तिको नियमित अनुगमन आवश्यक रहेको बताए। अध्यक्ष सिटौलाले अनलाइन टिकटिङ तथा प्रविधिमैत्री यातायात प्रणाली कार्यान्वयनमा सरकारी निकायले अवरोध गरिरहेको पनि आरोप लगाए । यस्तै उनले सवारीसाधनमा भइरहेका आगलागी तथा दुर्घटनाका विषयमा निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरे ।
यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले दशै अगाडी नै सार्वजनिक सवारीसाधनमा प्रविधिमैत्री ‘जीपीएस’ लागू गर्ने बताए । सार्वजनिक यातायातमा प्रयोग हुने जीपीएसलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने तयारी भईरहेको उनको भनाइ छ । दसैँअघि नै आवश्यक सूचना जारी गर्ने उनको भनाई छ ।
महानिर्देशक पोखरेलले दसैँ–तिहारको समयमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन पनि उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयमार्फत पहल गर्ने बताए । यस्तै उनले अग्रिम टिकट बुकिङ तत्काल खोल्न उपयुक्त नहुने बताए।
