काठमाडौं । सांसदहरूले कर्मचारी नियुक्तिमा भइरहेको आर्थिक चलखेल, कुटनीतिक नियोगमा विवादित नियुक्ति र बजारको चरम मूल्यवृद्धिबारे सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको बिहीवारको बैठकमा शुन्य समयमा धारणा राख्दै उनीहरूले सुशासनको खडेरी परेको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद जगतबहादुर पार्कीले कर्मचारी नियुक्ति र सरुवामा विचौलियाको सेटिङ रहेको भन्दै गम्भीर छानबिनको माग गरे । उनले मन्त्रीहरूकै नाम जोडेर सार्वजनिक भएको एक अडियो संवादले प्रशासनमा मौलाएको भ्रष्टाचारलाई उजागर गरेको जिकिर गरे ।
कुटनीतिक मर्यादा र सुशासनका विषयमा सांसद मदनकुमारी शाहले गम्भीर प्रश्न उठाए । उनले स्थायी बसोवास (पीआर) लिएका व्यक्तिलाई राजदुत नियुक्त गर्नु राष्ट्रिय हितविपरित हुने भन्दै जापानका लागि नियुक्त राजदुतको विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरे ।
सांसद युवराज शर्माले वर्तमान सरकार पूर्णतः असफल भएको टिप्पणी गर्दै राज्यका हरेक संयन्त्रमा कोहराम मच्चिएको दाबी गरे भने सांसद भूवनबहादुर सुनारले सरकारको आलोचना गर्नेमाथि दमन गरिएको भन्दै अधिनायकवादी बाटो नछोड्न चेतावनी दिए ।
प्राकृतिक विपद् र सुरक्षाका विषयमा पनि सांसदहरूले जोडदार आवाज उठाए । सांसद तुलप्रसाद विश्वकर्मा र मदनकुमारी साहले भोटेकोशी बाढीपीडितको राहत र संसदीय अनुगमन टोलीमा राष्ट्रिय सभाको प्रतिनिधित्व हुनुपर्ने माग राखे । सांसद नरबहादुर विष्टले सुर्खेतको चौकुनेमा सर्पदंशका कारण भइरहेको मृत्यु रोक्न तत्काल औषधिको व्यवस्था गर्न सरकारलाई आग्रह गरे । कीर्तिपुरको गाडी आगजनी प्रकरण र सुरक्षाकर्मीको कार्यशैलीबारे पनि सांसद राजेन्द्रलक्ष्मी गैरेले प्रश्न उठाइन् । सांसद सुरेशकुमार आले मगरले जलवायु परिवर्तनको संकट टार्न आदिवासीहरूको ज्ञान र सीपलाई उपयोग गर्नुपर्नेमा जोड दिए । सांसद सुङ्गेल्जेन शेर्पाले चाडपर्वको मुखमा भइरहेको कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न तथा बाढीपहिरोको उच्च जोखिममा सुरक्षा व्यवस्था चुस्त बनाउन सरकारको ध्यानाकर्षण गराए
सांसद खम्बबहादुर खातीले वर्तमान सरकारको कार्यशैली र सुशासनको नाराप्रति असन्तुष्टि व्यक्त गरे । उनले भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनाका लागि गठित संसदीय विशेष समितिमा राष्ट्रिय सभालाई उपेक्षा गरिएको भन्दै आपत्ति जनाएका हुन् । सांसद खातीले सरकार परिवर्तन हुनुलाई सामान्य राजनीतिक प्रक्रियाका रूपमा लिएपनि त्यसले जनताको दैनिक जीवनमा ल्याउनुपर्ने सकारात्मक परिवर्तनको अभाव खड्किएको बताए ।
