१ कार्तिक २०८३, शनिबार

देशका अधिकांस स्थानमा निरन्तर झरी, शनिाबारसम्म हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने

0
Shares


काठमाडौं । देशका बिभिन्न स्थानमा निरन्तर झरी परिरहेको छ ।


बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण बुधबार बेलुकीदेखि नै झरी शुरु भएको हो । आइतबार सम्म हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने र सोमबारदेखि मात्रै वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातारको झरीले नदी र खोलाहरुमा बाढी आएको छ । भक्तपुर, काभ्रेपलाञ्चोक र इलामका विभिन्न नदी तथा खोलामा जलसतह बढेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । शनिबारसम्म जोखिम बढी रहेकाले विशेष सावधानी अपनाउन मौमस पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार शुक्रबार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ । यस्तै लुम्बिनी र गण्डकी प्रदेशको एक÷दुई ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मधेश प्रदेशको एक÷दुई ठाउँमा पनि मुसलधारे वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अरु ठाउँमा पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ । ठूलो पानी पर्ने भएकाले सरकारले त्यसैअनुसार पूर्वतयारी र सतर्कता अपनाएको जनाएको छ । धेरै विद्यालयले आज बिदा दिएका छन् । मुख्य राजमार्गमा रातको समयमा गाडी चलाउन रोक लगाइएको छ । नदी खोला किनारका बस्तीमा निरन्तर निगरानी भैरहेको सरकारी निकायले जनाएका छन् ।मौसमविदहरुले विशेषगरी लामोदूरीको यात्रा नगर्न तथा बाढी र पहिरोको जोखिम भएको ठाउँमा विशेष चनाखो हुन अनुरोध गरेका छन् ।