काठमाडौं । देशभरका ११ वटा राजमार्गसहित विभिन्न खण्डका सडक अवरुद्ध भएका छन् ।
गत बुधबारदेखि जारी भारी वर्षाका कारण बाढी तथा पहिरो जाँदा पृथ्वीराजमार्गसहित मुलुकभरका ११ वटा राजमार्गसहित विभिन्न खण्डको सडक अवरुद्ध भएका हुन् । पृथ्वीराजमार्गको कृष्णभीर, चौकीभीर, जवाङखोला, फिस्लिङलगायत सडकखण्ड अवरुद्ध भएका छन् । सो खण्ड अवरुद्ध हुँदा मुलुकका विभिन्न स्थानबाट देशको राजधानी काठमाडौँ आउने सवारीसाधन प्रभावित भएका छन् ।
लगातारको वर्षाका कारण रातिको समय र जोखिम मानिएका स्थानमा दिउँसो पनि यातायात सञ्चालनमा रोक लगाइएको सडक विभागले जनाएको छ । विभिन्न स्थानमा पहिरो पन्छाउने काम भइरहेको जनाएको छ । त्यसैगरी बिपी राजमार्गको माम्ती, पिप्ले, दाउन्ने –कालोपुल, चारसयबेँसी, कटुन्जे, चौकीडाँडालगायत खण्ड अवरुद्ध भएका छन् ।
कान्ति राजमार्गको चपली, तकुर्चेलगायत खण्डमा पनि आंशिक रूपमा प्रभावित भइरहेको छ । मकवानपुर खण्डमा भने पहिरो पन्छाएर यातायात सञ्चालनमा आएको विभागले सूचनामार्फत जनाएको छ । यस्तै अन्य अवरुद्ध राजमार्गमा पनि पहिरो पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भैरहेको जनाइएको छ ।