काठमाडौं । मुग्लिन– काठमाण्डौ सडकखण्ड पहिरोका कारण अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा गाडीको आवागमन व्यवस्थित गर्न नयाँ समयतालिका निर्धारण गरेको छ
मुग्लिन–काठमाण्डौ सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने गाडीको चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको हो । हेटौँडाबाट काठमाण्डौतर्फ छुट्ने गाडी यसअघि गएराति २ बजेदेखि बिहान ५ बजेसम्म छुटेकोमा अब दिउँसो ३ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न दिइनेछ । त्यस्तै आइतबार बिहान ४ बजेदेखि १० बजेसम्म सञ्चालन गर्न पाइनेछ । त्यस्तै, काठमाण्डौबाट हेटौँडातर्फ राति १० बजेदेखि आइतबार बिहान १ बजेसम्म समय निर्धारण गरिएको छ । त्यस्तै आइतबार दिउँसो २ बजेदेखि बेलुका ७ बजेसम्म पनि काठमाण्डौबाट हेटौँडातर्फ गाडी सञ्चालन गर्न पाइने जनाइएको छ। त्रिभुवन राजपथमा ११ मिटर लम्बाइसम्मका यात्रुवाहक गाडीलाई मात्र सञ्चालन अनुमति छ ।
त्यस्तै, १० चक्काभन्दा बढी भएका तथा १५ टनभन्दा बढी भार बोकेका मालवाहक गाडीलाई त्रिभुवन राजपथ सडकखण्ड प्रयोग गर्न पूर्ण रोक लगाइएको छ ।जिल्ला प्रशासन कार्यालयले यात्रु तथा चालकलाई निर्धारित समयतालिका पालना गरी यात्रा गर्न आग्रह गरेको छ ।मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार कान्ति लोकपथमा दिउँसो दोहोरो गाडी सञ्चालन भइरहेको छ भने सिस्नेरी हुँदै काठमाण्डौ भित्रने मार्गमा साना गाडीका लागि आलोपालो समयतालिका लागू गरिएको छैन ।