३० आश्विन २०८३, शुक्रबार

‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान केही पछाडि धकेलिएको छः केपी ओली

0
Shares


काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्तिमा पछिल्लो समय धक्का लागेको बताएका छन्।

बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा नेकपा९एमाले० को नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजानीकीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । केही समययताका राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्यलाई केही दशक पछाडि धकेलेको स्वीकार गर्दै त्यसलाई असफल वा पराजित भएको भन्न नमिल्ने जिकिर गरे। पूर्वप्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा अगाडि सारिएका सामाजिक क्षेत्रका सुधारहरूलाई समाजवादउन्मुख कदमको संज्ञा दिए। सडक बालबालिका मुक्त राष्ट्र घोषणा, सहयोगापेक्षी सडक मानवहरूको व्यवस्थापन र माग्ने प्रथाको अन्त्यलाई उनले सरकारको ‘जिम्मेवार’ व्यवहारको उपजका रूपमा व्याख्या गरे। उनले ज्येष्ठ नागरिक भत्ता, स्वास्थ्य बीमा र बालबालिकाका लागि चलाइएको ‘खोलौँ खाता’ अभियानलाई मानवतावादी कार्यको रूपमा चर्चा गरे । आफ्ना विकास निर्माणका काममाथि हुने आलोचनालाई लक्षित गर्दै उनले नागढुङ्गा क्षेत्रमा राखिएको साइनबोर्डको विवादलाई सामान्य प्राविधिक विषय भएको जिकिर गरे।

अध्यक्ष ओलीले भने, ‘ हामीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य लिएका छौँ । पछिल्ला घटनाका कारण हाम्रो गन्तव्य केही पछाडि धकेलिएको छ, तर यसको अर्थ हामी असफल वा पराजित भएका होइनौँ । हामीले समाजवादको आधार निर्माण गर्ने क्रममा सामाजिक क्षेत्रमा विभिन्न काम गरेका थियौँ । सडक बालबालिकालाई उद्धार गरी उचित व्यवस्थापन गर्ने, असहाय र बेसहारा सडक मानवको संरक्षण गर्ने तथा सडकमा भिक्षा माग्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रयास ग¥यौँ । हामीले जनताप्रति जिम्मेवार सरकारको अवधारणा अघि सा¥यौँ । शारीरिक रूपमा अशक्त, अपाङ्गता भएका व्यक्ति, असहाय, बेसहारा र ज्येष्ठ नागरिकको संरक्षणका साथै ज्येष्ठ नागरिक भत्ता, स्वास्थ्य बीमा र सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन ग¥यौँ । यी सबै काम मानवतावाद र समाजवाद उन्मुख राज्य निर्माणका प्रयास थिए । सरकारको जिम्मेवारी केवल जवाफदेहिता र हिसावकितावमा सिमित हुँदैन। जसरी आमाले आफ्ना सन्तानको हेरचाह माया र आत्मीयताका साथ गर्छिन्, त्यसरी नै सरकारले पनि आफ्ना नागरिकप्रति जिम्मेवार भएर काम गर्नुपर्छ । हामीले गरेका सामाजिक कार्यहरूको महत्त्व कुनै साइनबोर्ड हटाउँदैमा समाप्त हुँदैन । ती कामले समाजमा पारेको प्रभाव र तिनको इतिहासलाई मेटाउन सकिँदैन । ‘सुखी नेपाली’ बनाउने हो भने पहिले जनताका दुःख निवारण गर्नुपर्छ । गरिबी, अभाव र असहाय अवस्थाको अन्त्य गर्दै नागरिकको आधारभूत आवश्यकता पूरा गर्ने वातावरण बनाउनुपर्छ । पहिले दुःख निवारण, त्यसपछि सुख प्राप्ति–यही सोचका साथ हामीले सामाजिक न्याय र समृद्धिको बाटो अघि बढाएका थियौँ ।’

समृद्धिको यात्राबारे प्रस्ट पार्दै अध्यक्ष ओलीले सुखी नेपाली बनाउनका लागि पहिले दुःख निवारण गर्नुपर्ने बताए।