बागमती प्रदेश कांग्रेस संसदीय दलको नेतामा बाँनिया निर्वाचित, बहालवाला मुख्यमन्त्री लामा नै पराजित

काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसभित्रको किचलो झनै बढेको छ । संसदीय दलको नेतामा बहालवाला मुख्यमन्त्री बहादुर सिंह लामालाई हराएर इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । तर, लामाले मुख्यमन्त्री पद नछाड्ने अडान लिएपछि एमालेले समेत कांग्रेसको आन्तरिक घरझगडा मिलाउन आग्रह गरेको छ । नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ पार्टीको बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित भएका छन् । बुधबार प्रदेश राजधानी हेटौंडामा भएको निर्वाचनबाट उनी बहालवाला मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गर्दै दलको नेतामा निर्वाचित भएका हुन् ।
बागमतीमा कांग्रेसका ३७ प्रदेशसभा सदस्यमध्ये बानियाँको पक्षमा २२ र मुख्यमन्त्री लामाको पक्षमा १४ मत खसेको छ । एक मत भने बदर भयो । यसअघि मंगलबार संसदीय दलको बैठकमा मुख्यमन्त्री लामाविरुद्ध दर्ता अविश्वासको मत बहुमतले पारित भएको थियो । दलका नेता एवम् मुख्यमन्त्री लामाविरुद्ध बानियाँले २१ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित साउन ९ गते प्रदेश संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । प्रस्ताव दर्ता भएकै दिन लामाले मुख्यमन्त्री पद सम्हालेको ठीक एक वर्ष पनि पूरा भएको थियो ।
बानियाँ र लामा दुवै पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् । बानियाँ र लामा संसदीय दलको नेतामा दोस्रो पटक भिडेका हुन् । प्रदेश सभाको दोस्रो कार्यकालमा पहिलो पटक २०७९ पुस १३ मा संसदीय दलको निर्वाचन हारेका बानियाँले साढे २ वर्षमै नतिजा उल्ट्याएका हुन् । संसदीय दलको नेतामा निर्वाचित बानियाँ कांग्रेसको बागमती प्रदेश सभापतिसमेत हुन् । मुख्यमन्त्री बन्न बानियाँले दौडधुप गरेपनि मुख्यमन्त्री बहादुर सिंह लामाले आफूले पदबाट राजीनामा नदिने अडान लिएका छन् । संसदीय दलको नेता पदको निर्वाचनमा इन्द्र बानियाँसँग पराजित भएसँगै लामाले आफूले राजीनामा दिनुपर्ने कुनै आधार नै नभएको बताएका हुन् ।
उनले संविधानभन्दा बाहिर कोही पनि ठुलो नहुने पनि बताए । तर, कांग्रेस बागमती प्रदेशको संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । उनले संसदीय दलको नेता नरहेका लामालाई अब मुख्यमन्त्रीबाट सहजरुपमा बिदाइ गरिने बताए । लामालाई हटाउने रणनिति बमोजिम आफ्नै पार्टीका नेताहरुले मन्त्रीबाट राजीनामा समेत दिए । लामाले भने मन्त्री नै नियुक्त गरे । तर, बागमती प्रदेशका नवनियुक्त ३ मन्त्रीहरूको शपथ ग्रहण रोकिएको छ । सत्ता साझेदार दल एमालेको अब्जेक्सन पछि कांग्रेसका नवनियुक्त ३ मन्त्रीको शपथ ग्रहण रोकिएको हो ।
चितवनकी माया श्रेष्ठ, गीता गुरुङ रहेका थिए भने धादिङका गोविन्द लम्साललाई पनि मन्त्री बनाएका थिए । मन्त्रालयको जिम्मेवारी दिने निर्णयसहित प्रदेश प्रमुखसमक्ष पत्राचार गरेपनि शपथ रोकियो । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको बैठकले नेपाली कांग्रेसलाई आफूभित्रको विवाद चाँडो मिलाउन अनुरोध गरेको छ । कांग्रेसले विवाद मिलाउन नसके एमाले रेस्क्यूका लागि तयार रहेको भन्दै वैकल्पिक उपायमा जान सक्ने चेतावनी समेत दिएको छ । लामाले मुख्यमन्त्री नछाड्ने बरु मन्त्री नै नियुक्त गरेर भएपनि प्रदेश सरकार चलाउने योजना बनाइरहेका छन् । संसदीय दलको नेतामा पराजित भएपनि आफू मुख्यमन्त्री सुरक्षित रहेको उनको दाबी छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE