आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौं । आज देशभर गाईजात्रा पर्व मनाइँदै छ । विशेष गरी काठमाडौँ उपत्यका सहित देशभर रङ्गिन झाँकी, व्यङ्ग्य, नाचगान र हास्यप्रद कार्यक्रमसहित गाईजात्रा पर्व मनाउन लागिएको हो ।
भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म चल्ने यो सांस्कृतिक पर्व आजको दिन विशेष रौनकमा हुन्छ । गाईजात्राको दिन, एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा, गाई वा मानिसलाई गाईको रूपमा सजाएर नगर परिक्रमा गराउने परम्परा छ ।
सहभागीलाई दूध, फलफूल, रोटी, चिउरा, दही लगायत अन्न र नगद दान गर्ने प्रचलन अझै जीवित छ । यसरी नगर परिक्रमा गर्दा दिवङ्गत आत्माले वैतरणी पार गर्न सजिलो हुन्छ भन्ने धार्मिक विश्वास छ ।
यो पर्वको सुरुवातको कथा राजा प्रताप मल्लसँग जोडिएको छ । पुत्र वियोगले शोकमा डुबेकी रानीलाई संसारमा सबैलाई दुःख भोग्नु पर्छ भन्ने देखाउन, उनले जनतालाई दिवङ्गत आफन्तको सम्झनामा गाईजात्रा निकाल्न आदेश दिएको र पछि रानीलाई मुस्कान फर्काउन हास्यव्यङ्ग्य र प्रहसन पनि यस पर्वमा समावेश गरिएको थियो । प्रताप मल्लको पालादेखि हनुमानढोकास्थित राजदरबार हुँदै गाईजात्रा जाने परम्परा आजसम्म कायम छ ।
उपत्यकाबाहेक बनेपा, पनौती, धुलिखेल, त्रिशूली, दोलखा, इलाम, धरान, पोखरा लगायत नेवार समुदायको बसोबास रहेको सहरमा पनि यो पर्व उत्साहका साथ मनाइन्छ ।
यस्तै गाईजात्रा हास्यव्यङ्ग्यको पर्व पनि हो। यहाँ समाजमा रहेका विकृति–विसङ्गति उजागर गरिन्छ, व्यङ्ग्यका माध्यमबाट सचेतना फैलाइन्छ । सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE